५७ दिनमा ५ बैठक

बैशाख २४ गते वागमती प्रदेशमा सार्वजनिक बिदा



हेटौंडा ।

वागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक अन्त्य भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादबचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट निर्माणको तयारीमा छ । त्यसैले हिउँदे अधिवेशन अन्त्य गरेर जेठबाट प्रिबजेट छलफल सुरु गर्ने तयारी छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो । १५ फागुन २०८० बाट हिउँदे अधिवेशन सुरु भएको थियो । प्रदेशसभा सचिवालयले जानकारी दिएअनुसार ५७ दिनको अधिवेशन अवधिमा ६ वटा बैठक बसेको थियो । अधिवेशनभर शून्य समय भएन भने विशेष समय एउटा चलेको थियो ।

बैठकले प्रदेश सरकारी कामकाजको भाषा बैशाख २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा बसन्तपुरमा शुभारम्भ गरिने, प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ भएको दिन वागमती प्रदेशभर सार्वजनिक बिदा दिने, सरकारी कार्यालयका साइनबोर्ड र लेटरप्याडमा तीन भाषा नेपाली, तामाङ र नेपाल भाषामा लेखिने भएको छ । सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीद्वारा गोताखोर तालिम, विपद् स्वयम्सेवक समूह निर्माण तथा परिचालन, प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को पहिलो संशोधनबारे पनि निर्णय भएको छ ।

नयाँ कार्यालय भवन उद्घाटन गर्न भएको खर्चका लागि जिल्ला अदालत मकवानपुरलाई ५ लाख रकम अख्तियारी दिने, स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकम स्वीकृत, प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरण सम्बन्धि मापदण्ड, २०८० संसोधनसहित स्वीकृत, वनक्षेत्रको भोगाधिकार तथा रुखकटान सम्बन्धमा जग्गा भोगाधिकारमात्र लिइ राख्ने, लंैगिक तथा यौनिक अल्पसंख्यक सम्बन्धि नीति, २०८१ स्वीकृत, आव २०७८-०७९ को बाँकी भुक्तानी रकम निकासा स्वीकृत र प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयोग गर्नपर्ने सम्बन्धमा निर्णय गरेको छ ।

विधेयक अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशनबाट हस्तकलाग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । १७ फागुनमा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन, १७ फागुनमा बसेको तेस्रो बैठकमा हस्तकलाग्राम विधेयक पेस तथा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । २९ फागुनमा बसेको अधिवेशनको चौथो प्रदेशसभा बैठकमा विशेष समितिको प्रतिवेदन पेस, ३० फागुनमा भएको पाँचौं बैठकले प्रतिवेदन पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्