कोदोको रक्सी ब्राण्डिङ गर्न सत्र कानुन संशोधन गर्नु पर्छ राम कुमार खत्री



उदयपुर ।

कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले हाम्रो गाउँ घरको लोकप्रिय कोदोको रक्सी ब्राण्डिङ गरेर बिक्री गर्नकालागि प्रदेश सरकारले १७ वटा कानुन संशोधन गर्नु पर्ने अवस्था रहेको बताएका छन् ।

बुधबार गाईघाटमा आयोजित कोशी प्रदेश स्तरीय तेस्रो औद्योगिक बृहत् प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८०को उद्घाटन गर्दे प्रमुख अतिथि समेत रहेका मन्त्री खत्रीले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने विषयमा मन्त्रालयमा आफूले सचिव तथा कर्मचारीहरुस्ँग आवश्यक छलफल गर्दा कानुनी जटिलता देखिएको बताउँदै १७ वटा कानुन संशोधन गर्न मै समय लाग्ने भएकोले यो काम जटिल रहेको बताए ।

 

सो कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले कोदो हाम्रो रैथाने बाली भएको तर गाउँ घरमा यो बाली लगाउन छाडिएकोले यसलाई संरक्षण गर्न पनि आवश्यक रहेको बताइन । पुरानो बालीका रुपमा रहेको कोदो फापर जुनेलो हिजोआज बालीका रुपमा लगाउन छाडिएको छ । यस्ता रैथाने बाली लगाउन छाड्दा परम्परागत खेती लोप हुँदै गएकोले यस्ता बालीको संरक्षण्मा पनि सरकारले ध्यान दिनु पर्ने बताइन ।

सो कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले उदयपुरमा भएकामे यो प्रदर्शनीले कोशी प्रदेश  कै प्रतिनिधित्व गरेको र यस्ता खाले प्रदर्शनीले उद्यमीहरुको उद्यमशीलता बढने भएकोले प्रदेश सरकारले सधैँ प्राथमिकतामा राखेर हौसला दिने बताउनुभयो ।

१२ गतेबाट १८ गतेसम्म संचालन हुने महोत्सवमा ५० वटा स्टल रहेको छन भने करीब १ लाखले मेला अवलोकन गर्ने र ५० लाखको कारोबार हुने अनुमान गरिएको छ । स्टलमा १० जिल्लाका उद्यमी व्यवसायीले आफ्नाे उत्पादन प्रदर्शनमा राखेको छन भने स्थानीय रैथाने खानालाई बढी प्राथमिकता दिनुका साथै कोदोको ममलाई उच्च प्राथमिकता दिई प्रदर्शनी स्थलमा पकाउन लगाइएको छ । मेलामा अचार, कपडा, खानाका परिकार, साहित्य कला सम्बन्धी, जडिबुटी लगायतका सामानहरु प्रदर्शनमा राखिएको छ भने जडिबुटी उद्यमी तेजनारायण सेर्पालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्