भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ : राष्ट्रपति पौडेल



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन्।

नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताए।

उनले भनेका छन्- ‘भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।’

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरुरी रहेको बताए। भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्व तयारी तथा जोखिमको चुस्त व्यवस्थापन भए मात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

गोरखाको बारपाक केन्द्रबिन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुनेप्रति राष्ट्रपति पौडेलले श्रद्धाञ्जली व्यक्त गरेका छन्। त्यस्तै, भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने पनि उनले कामना गरेका छन्।

नेपाल सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनः निर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको छ।

यसरी पुनः निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको समेत प्रयोग गरिएकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्