प्रधानमन्त्रीले भ्रष्टाचार नगरे मन्त्रीले गर्दैनन् : प्रेम सुवाल



काठमाडौं ।

“प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीले पनि भ्रष्टाचार गर्दैनन् र मन्त्रीले भ्रष्टाचार गरेनन् भने सचिवले पनि गर्दैनन् । यसरी नै कर्मचारीहरूले पनि भ्रष्टाचार गर्दैनन् र देशमा भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ” नेमकिपाका सांसद प्रेम सुवालले भन्नुभयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव कार्यक्रममा भक्तपुरमा बोल्दै सांसद सुवालले उक्त कुरा राख्नुभएको हो । उहाँले अस्पतालको वार्षिकोत्सव मनाउने क्रममा केही व्यक्तिले प्रधानमन्त्रीलाई लक्षित गरी प्लेकार्ड देखाउनुले माथिको भनाइलाई पुष्टि गर्छ भन्नुभयो ।

उहाँले हरेक व्यक्तिले अस्पताल पुगेपछि राम्रो उपचार पाइन्छ भन्ने नै सोचेका हुन्छन् तर वार्षिकोत्सवको अवसरमा केही व्यक्तिले राम्रो उपचारको माग गर्दै सांकेतिक रुपमा विरोध गरेको देखियो । हरेक विषयको निर्णय गर्ने काम प्रधानमन्त्री र मन्त्रीहरूको हुन्छ । जनप्रतिनिधिले विषय प्रधानमन्त्री समक्ष पुर्‍याउने हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो जग्गा नहुँदा पनि १२ वर्षमा विश्वकै नमुना काम गरेको र देशको ठुलो रकम विदेशीनबाट जोगाई १२ सय भन्दा बढी मानिसको अंग प्रत्यारोपण गरी ज्यान बचाएकोमा प्रशसा गर्दै जग्गा प्राप्तिका लागि प्रधानमन्त्री समक्ष प्रस्तावना लैजाने बताउनुभयो ।

कार्यक्रममा सांसद दुर्लब थापाले मानब अंग प्रत्यारोपण केन्द्रको विकास र विस्तारमा आफू सधैँ प्रतिबद्ध रहेको र केन्द्रको लागि आवश्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवाज उठाउने बताउँदै केन्द्रले गरेको कामको प्रशंसा गर्नुका साथै केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएकोमा सम्पूर्ण कर्मचारीहरूलाई शुभकामना तथा बधाई दिनु भयो ।

कार्यक्रममा एक वर्ष भरी केन्द्रले गरेका प्रगति विवरणका बारेमा कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । उहाँले मस्तिष्क मृत्युपछि गरिने अंगदानबाट २ जनालाई मृगौला, १ जनालाई मुटु, २ जनालाई फोक्सो, प्याङ्क्रियाज १ जनालाई, कलेजो १ जनालाई सानो आन्द्रा १ जनालाई गरी ८ जनालाई बचाउँछ सकिने बताउनुभयो । उहाँले केन्द्रको आफ्नै जग्गा भए ५ सय बेडको अत्याधुनिक भवन बनाई ७ तै प्रदेशमा अंग प्रत्यारोपण गरी वर्षमा ५ सय भन्दा बढी मृगौला प्रत्यारोपण गर्ने भावी योजना सार्वजनिक गर्नुभयो ।

साथै उहाँले केन्द्रमा कार्यरत सम्पूर्णको योगदान र प्रतिवद्धताबाट मात्र अस्पतालले सफलता हासिल गर्न सम्भव भएको कुरा बताउनु भयो । केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको कुरा व्यक्त गर्नु हुँदै केन्द्रको लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गर्नु भयो ।

उक्त कार्यक्रममा बिरामीको प्रतिनिधित्व गर्दै मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र श्री मृगौला पिडित सरोकार समाजका संस्थापक अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले बिरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च सम्मान गर्नु भयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले यो अस्पतालले केन्द्रले उत्कृष्ट सेवा प्रदान गरिरहेको र आगामी दिनमा पनि अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले केन्द्र स्थापना देखि यसको विकासका लागि आफू निरन्तर सकारात्मक रहेको र आवश्यक सहयोग गरी रहेको बताउँदै केन्द्रले प्रत्यारोपण क्षेत्रमा स्थापनाको १२ वर्षमा नै यति ठुलो प्रगति गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केन्द्रलाई सहयोग गर्ने महानुभाव लाई धन्यवाद व्यक्त गर्नु भयो । केन्द्रको विकासको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिबद्ध रहेको कुरा बताउनु भयो ।

उक्त समारोहमा केन्द्रमा कार्यरत कर्मचारीहरू मध्ये २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार युरोलोजिष्ट तथा मृर्गौला प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिरामीहरूको तर्फबाट झमक श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।

एक वर्षको अवधिमा केन्द्रबाट भएका मुख्य मुख्य गतिविधिहरू:

कार्यक्रम आयोजक समितिका संयोजक डा. लुसन सिंहले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिनु भयो । कार्यक्रमको सञ्चालन केन्द्रका प्रशासन प्रमुख सुषमा महताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्