हीरक महोत्सवको सन्देश: कम्युनिस्ट एकतामा हतार नगर्ने



काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार हीरक महोत्सव मनाउँदै सत्तारुढ गठबन्धनका मुख्य नेतृत्वले कम्युनिस्ट एकतामा हतार नगर्ने सन्देश दिएका छन्।

वाम एकता गर्न पटकपटक प्रयास गर्दै आएका कम्युनिस्ट पार्टीका नेताहरूले एउटै मञ्चमा उभिएर हौसिएर हतारमा कम्युनिस्ट एकता नगर्ने बताएका हुन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तत्काल पार्टी एकता नगर्ने स्पष्ट पार्दै ती पार्टीका शीर्ष नेताहरूले अहिलेलाई सत्ता सहकार्य मात्रै भएको बताएका छन्। एमालेले आयोजना गरेको हीरक महोत्सवमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकताको विषय चर्चामा मात्रै सीमित रहेको सन्देश दिए।

एमाले अध्यक्ष ओलीले कम्युनिस्ट एकताको विषय व्यक्तिगत आकांक्षा मात्रै भएको टिप्पणी गर्दै भन्नुभयो– ‘तत्काल एकता गरिहालौं भन्ने तर्क व्यक्तिगत आकांक्षाको कुरा मात्रै हुनसक्छ। नेकपा विभाजनको कारण नागरिकले थाहा पाइसकेका छन्। हामी पार्टी एकीकरण गरिहालौं, पार्टी एकीकरण भइहाल्छ, यो अर्को व्यक्तिगत आकांक्षा, तुष्टिको कुरा मात्रै हुनसक्छ।’

कम्युनिस्ट आन्दोलनको आम ट्रेन्ड एकता, एकीकरणकै भए पनि यस बीचमा कम्युनिस्ट आन्दोलनले दुई ठूला विभाजन व्यहोर्नुपरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘अहिले वामपन्थी शक्ति मात्रै मिलेर अगाडि बढ्ने अवस्था छैन । देशभक्ति, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता, भ्रष्टाचार विरोधी र सुशासन पक्षधर शक्तिहरूबीचको एकताको खाँचो छ ।’

कम्युनिस्ट एकताकै अभियानका रूपमा समाजवादी मोर्चा बनाएर अघि बढ्नुभएको माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पनि हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा आफू नरहेको अभिव्यक्ति दिनुभयो।

उहाँले भन्नुभयो– ‘हामी हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ। अहिले फेरि सहकार्य भएको छ। विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ।’

कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएपनि हतार नगर्ने उहाँको भनाइ छ। सत्तारुढ गठबन्धनमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेले आयोजना गरेको हीरक जयन्ती तथा पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान गर्ने कार्यक्रम बहिष्कार गर्नुभयो ।

हीरक महोत्सवकै अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवादले भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । नेकपा स्थापना दिवसको अवसरमा नेकपा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरेको छ ।

यसैबीच पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नेले कांग्रेसलाई गाली गरेर बस्न नसुहाउने बताउनुभएको छ। नेकपाको हीरक महोत्सवमा विशेष सम्बोधन गर्दै सभापति देउवाले एमाले अध्यक्ष ओलीले भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो कांग्रेसलाई गाली मात्र गरिरहेको टिप्पणी गर्नुभयो ।

देउवाले ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो– ‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो । मदन भण्डारी कसरी मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’ पछि ड्राइभर पनि मारियो।’

मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने भन्दै देउवाले थप्नुभयो ‘तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कांग्रेसले रोकेको हो ? खोइ पत्ता लगाएको ? । मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईंहरूले हत्यारा पत्ता लगाउनुपर्‍यो।’

उहाँले देशको अवस्था अत्यन्त खराब अवस्थामा पुगेको भन्दै मुख्य राजनीतिक शक्तिहरू देश र जनताप्रति सचेत भएर लाग्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्