तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, सतर्क रहन मौसम विभागको आग्रह



काठमाडौं ।

विगत केही दिनदेखि गर्मी बढ्दै गएको अवस्थामा आगामी शुक्रबारसम्म तराईमा तातो हावा चल्ने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले तराईबासीहरूलाई सतर्क रहन आग्रह गरेको छ।

विभागले तराईका १९ जिल्लामा तापमान अत्यधिक वृद्धि भई तातो हावा चल्ने भएकोले दिउँसोको समयमा बाहिर हिँडडुल नगर्न सुझाव दिएको छ।विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै लामो समयदेखि नेपालभर फैलिएको तुँवालोका कारण वातावरण बिग्रँदो अवस्थामा रहेको र यहीबीच तापमान बढ्दो अवस्थामा रहेकाले तातो हावा चल्ने क्रम बढ्ने भएकाले आउँदो शुक्रबारसम्म सर्तक रहन आग्रह गरेको हो।

विभागका अनुसार लुम्बिनी प्रदेश, मधेस प्रदेशका तराईका भूभाग र सुदूरपश्चिम प्रदेशका केही भूभागमा विगत केही दिनदेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र बढ्ने क्रम जारी रहेको छ ।

तराईमा मात्र नभएर पहाडी क्षेत्रका खोंचहरूमा समेत अत्यधिक गर्मी हुने भएकाले त्यसबाट बच्न आग्रह गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांशपेशी दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिने भएकाले यस्ता लक्षणबाट बच्न पनि विभागले आग्रह गरेको छ।

केही दिनयता काठमाडौं उपत्यकामा समेत गर्मी ह्वात्तै बढेको छ । पानी नपर्ने र दिनभर चर्काे घाम लाग्ने गरेका कारण तापक्रम बढ्ने क्रम जारी रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो। उहाँका अनुसार यो हप्ता काठमाडौं उपत्यकाको तापक्रम ३४ डिग्री सेल्ससियसभन्दा माथि रहने छ।

प्रतिक्रिया दिनुहोस्