जन्मदिनलाई सत्कर्ममा जोड्ने अभियान अन्तर्गत पशुपति क्षेत्रमा वृहत् वृक्षारोपण

वृक्षारोपण अभियानलाई देशव्यापी  बनाऔँ : गृहसचिव अर्याल



काठमाडौँ। 

सोमबार आराध्यायदेव पशुपतिनाथको पवित्र भूमि मृगस्थलीमा सकारात्मक सोचले भरिपूर्ण एउटा समूह बिहानै जम्मा भएर वृक्षारोपण जस्तो पवित्र कार्यमा सरिक भयो । सो समूहले मृगस्थलीमा वृक्षारोपण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै वृक्षारोपण गर्ने अभियानलाई शसक्त बनाउनु पर्ने सन्देश समेत दियो ।

जन्मदिनलाई सत्कर्ममा जोड्ने र सकारात्मक सोचका साथ वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्ने लक्ष्यका साथ जम्मा भएको सो समुहमा सरकारका वरिष्ठ प्रशासकहरु, उच्च पदस्थ कर्मचारीहरु, वरिष्ठ चिकित्सक, व्यवसायी,  समाजसेवी, कलाकार, पत्रकार लगायतको उत्सावद्र्धक सहभागिता  रहेको थियो ।

त्यो समुहमा रहेका  नेपाल सरकारका गृहसचिव एकनारायण अर्याल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अर्थ मन्त्रालयकी सहसचिव पार्वती शर्मा,नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित,नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल,  वरिष्ठ मुटुरोग विशेषज्ञ डा,ओममूर्ति ,चलचित्र निर्देशक लक्ष्मण सुवेदी, दयाराम दाहाल, प्रदीप खड्का,,चलचित्र क्षेत्रकी नायिकाहरू दिपाश्री निरौला, केकी अधिकारी, मलिका महत, रजनी शर्मा तथा सञ्चारकर्मीहरु लगायतले मृगस्थलीमा वृक्षारोपण मात्रै गरेनन् । यस्तो कार्यक्रमले थप ऊर्जा, जोश र जाँगर थपेको बताउँदै यसलाई देशव्यापी बनाउनुपर्ने बताए ।

 यति महत्त्वपूर्ण कार्यक्रमको चाँजोपाँजो भने वरिष्ठ पत्रकार तथा तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले मिलाएका थिए ।  नवीन प्रर्वद्धनात्मक कार्यक्रमको आयोजना गरी वातारणीय सुधारमा योगदान दिएको भन्दै प्रशासक ,उच्च पदस्थ अन्य कर्मचारी, समाजसेवी,चिकित्सक, कलाकार, सञ्चारकर्मी सबैले चौलागाईको प्रशंसा गरेका थिए ।

सो वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि गृहसचिव एकनारायण अर्यालले पवित्र भूमिमा  उपस्थित भएर सकारात्मक सोच र लक्ष्यका साथ वृक्षारोपण गर्दा सबै जनामा नयाँ ऊर्जा र जोश प्राप्त हुने बताए । गृहसचिव अर्यालले जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियानले समाजमा देखिएका विकृति र विसङ्गतिलाई हटाइ सम्भ र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण भु्मिका खेल्ने विश्वास व्यक्त गरे ।

‘वास्तवमा समाजमा अहिले विकृति र विसंगति देखिएको छ, तर हाम्रो समाज त्यस्तो खाले विकृति भित्रने समाज होइन भनेर सन्देश दिन पनि यस्ता अभियान सञ्चालन हुनुपर्छ र यस्ता अभियानलाई देश विदेशसम्ममा नै पु¥याउनुपर्छ । ’गृहसचिव अर्यालले भने । गृहसचिव अर्यालले  यो अभियानलाई ७७ वटै जिल्ला र ७ सय ५३ वटै स्थानीय तहमा पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।

सबै नेपालीको जन्मदिनमा सबैले एक एक वटा वृक्षारोपण रोप्नुपर्छ भन्ने सन्देश दिएर त्यसलाई व्यवहारिक रुप दिन सकिएमा वातावरणमा आमूल सुधार  आउने र वातावरणमा सुधार आउन सकेमा क्रमश  सभ्य र सुसंस्कृत समाज निर्माण हुने गृहसचिव अर्यालले  स्पष्ट पारे । ‘ वृक्षारोपणलाई व्यापक बनाउन सकेर हरियाली प्रवर्द्धन गर्न सकिएमा स्वच्छ अक्सिजन लिन पाइने र त्यसले नयाँ ऊर्जा र सकारात्मक सोच वृद्धि हुन्छ त्यसपछि समाजमा देखिएका विकृति विसंगतिहरु न्यूनीकरण हुदै जाने  र हामीले परिकल्पना गरेको सभ्य समाजको स्थापना हुने विश्वास गर्न सकिन्छ । यो अभियानलाई स्वदेशमा मात्रै नभएर विश्वव्यापी रुपमा फैलाउन जरुरी छ र यसका लागि सबै पक्षको सक्रिय भएर लाग्नु पर्छ ।’गृहसचिव अर्यालले जोड दिँदै भने ।

 अभियानका मुख्य नेतृत्वकर्ता वरिष्ठ पत्रकार चौलागाईले रौहहटबाट सुचारु भएको जन्मदिनलाई सत्कर्ममा जोड्ने अभियानलाई क्रमश देशव्यापी बनाइने प्रतिबद्धता जनाए । उनले सबै सहयोगी र पवित्र मनहरुलाई अभियानमा सरिक बनाएर प्रत्येकले आ आफ्नो जन्मदिनमा एउटा बिरुवा रोप्ने हुटहुटी प्रदान गर्ने गरी अभियानलाई व्यापक बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्