कर्माचार्य देशकै राजनीतिक अभिभावक: प्रधानमन्त्री



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए।

“उहाँको ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा नरबहादुर कर्माचार्य स्मृति बहु प्राविधिक शिक्षालय स्थापना भएको छ।”

दिवङ्गत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आबद्ध भएर राणा विरोधी आन्दोलन र  मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये एक भएको स्मरण गरे।

चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिस्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गर्नुभएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। उनले मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गरेको बताए।

निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्मचार्यले समन्वय र समझदारीका लागि सदा प्रयत्नशील रहनु भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिट प्रतिको लगाव भएको नेता भएको बताए।

प्रतिक्रिया दिनुहोस्