क्लब विश्वकप खेल्ने युरोपेली टोलीको टुंगो



एजेन्सी ।

आगामी वर्षदेखि ३२ क्लब सहभागी हुने नयाँ ढाँचाको फिफा क्लब विश्वकपको पहिलो संस्करणमा खेल्ने १२ युरोपेली क्लबको अन्तिम टुंगो लागेको छ।
सन् २०२५ को १५ जूनदेखि १३ जुलाईसम्म संयुक्त राज्य अमेरिकामा आयोजना हुने पहिलो संस्करणको फिफा क्लब विश्वकपमा छनोट हुनेमा यूरोपबाट सर्वाधिक १२ क्लब छानिएका हुन्।

कोटाअनुसार छानिएका टोलीसंख्या मध्यदक्षिण अमेरिकाबाट ६, एशिया र अफ्रिका तथा उत्तर तथा मध्यअमेरिकाबाट समान चार–चार तथा ओसेनियाबाट एक क्लब रहेका छन् । त्यसैगरी एक टोली आयोजकका रुपमा स्वतः छनोट हुने नियमअनुसार थप एक अमेरिकी क्लबले खेल्नेछ । उक्त अमेरिकी क्लबको घोषणा आगामी १७ मे मा हुनेछ।

यसपटक च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएसँगै क्लब विश्वकप खेल्ने १२ युरोपियन क्लबको टुंगो लागेको हो । युरोप महादेशबाट जम्मा १२ टिमको कोटा अनुसार इंग्लिश प्रिमियर लिगबाट म्यानचेस्टर सिटी र चेल्सी दुई टोली छनोट भएका छन् । पछिल्ला चार सिजनभित्र च्याम्पियन्स लिग जितेको टोली पनि क्लब विश्वकपमा छानिने नियमअनुसार चेल्सी छानिएको हो ।

अर्काे बलियो इंग्लिस क्लब आर्सेनल भने क्लब विश्वकपमा छनोट हुन असफल भयो। जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बार्यन म्युनिखसँग पराजित गरेपछि आर्सेनल छनोट हुनबाट बञ्चित भएको थियो।

त्यसैगरी स्पेनीस ला लिगाबाट रियल मेड्रिड र एथ्लेटिको मेड्रिड छनोट भएका छन्। स्पेनबाट जम्मा दुई टिम मात्रै क्लब विश्वकपमा छानिन पाउने कोटाअनुसार यी दुई क्लब छानिएका हुन्। जसमा जारी सिजनको च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेका रियल सबैभन्दा धेरै अंकका साथ क्लब विश्वकपमा छानिन सफल भयो।

अर्काे स्पेनी महारथी फुटबल क्लब बार्सिलोना भने जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पीएसजीसँग हार्दा स्पेनकै एथ्लेटिको मेड्रिडलाई फाइदा हुनपुग्यो। बार्सिलोना हार्दा एथ्लेटिको रियलसँगै क्लब विश्वकपमा छानिन सफल भएको हो। एथ्लेटिको पनि च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । तर, समूह चरणबाट अन्तिम आठसम्म पुग्दा एथ्लेटिकोले बार्सिलोनाको भन्दा कम खेल हारेर धेरै अंक जोडेको थियो । एथ्लेटिको बार्सिलोनालाई जिल्ल पार्दै छनोट हुन सफल भयो।

च्याम्पियन्स लिगमा बार्सिलोनाले क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४–१ गोलअन्तरको लज्जास्पद हार भोगेको थियो। यदि बार्सिलोना पीएसजीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको भए अंकको आधारमा विश्वकपमा स्थान बनाउने थियो। तर, दोस्रो लेग हारेर क्वार्टरफाइनलबाटै बाहिरिएसँगै बार्सिलोनाको विश्वकपमा छनोटको ढोका बन्द हुन पुग्यो।

यदि अन्तिम आठमा एथ्लेटिको पराजित भएर बार्सिलोनाले जितेको भए बार्सिलोना छनोट हुने पक्का थियो। दुवै टिम हारेपछि बार्सिलोना अंकमा पछि पर्दा एथ्लेटिकोले टिकट काट्न सफल भयो। त्यसैगरी जर्मन बुन्डेसलिगाबाट बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड छनोट हुँदा इटालियन सिरी ए टोली इन्टर मिलान र युभेन्टसले पनि क्लब विश्वकपमा स्थान सुरक्षित गरे।

त्यसैगरी पोर्चुगलको बेन्फिका एफसी र पोर्टोले पनि क्लब विश्वकप खेल्ने पक्का गरेका छन्। त्यसैगरी फ्रान्स र अस्ट्रियाबाट भने समान एक–एक टोली छनोट भएका छन् । जसमा फ्रान्सको पीएसजी र अस्ट्रियाको रेडबुल साल्जबर्ग रहेका छन्।

एशियाबाट तीन छनोट

एसियाबाट भने चारमध्ये तीन क्लब छनोट भइसकेका छन्। जसमा अल हिलाल, उरावा रेड डायमन्डस, उल्सान एचडी र २०२३–२४ एएफसी च्याम्पियन्स लिग विजेता रहेका छन् । त्यसैगरी अफ्रिकाबाट अल अहलि, वाईडाड कासाब्लान्का छनोट भइसके भने अन्य दुई टोलीको टुंगो लाग्न बाँकी छ।

त्यस्तै, उत्तर तथा मध्यअमेरिकाबाट मोन्टेरे, सियाटल साउन्डर्स, लियोन र २०२४ कोनकाफ च्याम्पियन्स लिग विजेता टोली रहेका छन्। त्यसैगरी दक्षिण अमेरिकाबाट पलमेरिस, फ्लूमिनेन्स र फ्लामेन्गो, २०२४ कोपा लिबेरटाडोरेस कप विजेता र अन्य दुई टोलीको टुंगो लाग्न बाँकी छ। ओसेनियाबाट भने अकल्याण्ड सिटीले स्थान सुरक्षित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्