आईटीएफ तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन



बागलुङ ।

मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताका च्याम्पियन भएका छन्।

बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा जित निकाल्दै सुवाश पुरुषमा र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन्। यससँगै दुबैले समान नगद ५० हजार प्राप्त गरे। पुरुष फाइनलमा सुवासले नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए। श्रीप्रसादले ३० हजार रुपैयाँ प्राप्त गरे । आर्मीका अनिल तामाङले तेस्रो भएर २० हजार नगद पाए।

महिला फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन् । सजिनाले नगद ३० हजार र कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै नगद २० हजार प्राप्त गरे। महिलातर्फ ५०–५७ केजी तौलसमूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पुरुषमा भने ५५–६२ केजी तौलसमूहका कुल २२ खेलाडीले चुनौती प्रस्तुत गरेको बागलुङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष प्रतीक घर्तिमगरले जानकारी दिए । प्रोफेसनल फाइटमा प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो।

प्रतिक्रिया दिनुहोस्