नेपालले इमर्जिङ टीम्स एशिया कप खेल्ने अवसर गुमायो



काठमाडौं ।

एसिया कप खेल्न अवसर गुमाइसकेको नेपालले इमर्जिङ टीम्स एशिया कप खेल्ने मौका पनि गुमाएको छ। ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको हो।

जबकी नेपालले हङकङलाई समूह चरणमा सजिलै हराएको थियो । यो हारसँगै नेपाल इमरजिङ कप खेल्नबाट पनि वंचित भएको छ। आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने इमर्जिङ टीम्स एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्ने अवसर गुमायो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३९ रन बनाएको थियो । १६.२ ओभरमा ९८ रन जोडेर ८ विकेट गुमाइसकेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । उनले यसपछि आक्रमक ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याए । उनले २९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाएका थिए । नवौं विकेटका लागि ४१ रनको साझेदारी हुँदा उनलाई सहयोग गरेका ललित राजवंशीको योगदान २ रन मात्रै थियो ।

दीपेन्द्र कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेर विश्व चर्चित बनेका खेलाडी हुन्। उनीमाथि पुरै जिम्मेबारी थपिएपछि उनले टोलीका लागि न्याय भने गरिदिए । यदि अन्तिम तीन ओभरमा उनले पनि धैर्य छाडेको भए शायद यो खेल छिटै सकिने पनि थियो। तर, उनले १ सय ४० रनको लक्ष्य दिन ठूलो भुमिका खेले।

साथै बलिङमा पनि २ विकेट लिएर विश्वको अलराउन्डर टी २० क्रिकेटर किन भयो भन्ने समेत उनले प्रमाणित गरिदिए। नेपालले ६ विकेटसम्म लिँदा त्यतिबेला हङकङ जितबाट १८ रनले मात्रै टाढा थियो। यस्तो मौका कुनै पनि टोलीले गुमाउँदैन र नेपालसँग पनि यही भयो।

ओपनर अंशुमन राठीले यो मौका छाडेनन्। उनले अन्तिम ओभरसम्म टिकेर नेपाललाई हराउन कम्मर कसेका थिए। ६५ रनमा नटआउट रहेका उनलाई आउट गर्न नसक्नु नै नेपालको हार भएको थियो । नेपालको तर्फबाट सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए।

नेपालको खराब ब्याटिङ

नेपालले जारी प्रिमियर लिग कपमा समूह चरणमा शानदार प्रदर्शन गरेको थियो । यसमा कुनै शंका नै छैन । तर, जब सेमिफाइनलमा पुग्यो नेपालले त्यो प्रदर्शन गर्न सकेन जसको लागि चर्चित थियो । सेमिफाइनलमा यूएईलाई मात्र १ सय २० रनको लक्ष्य दिएको थियो । यो खेल गुमाएर तेस्रो स्थानको लागि भएको खेलमा केही रन बढी नेपालले बनायो ।

नेपालले १ सय ३९ रन बनाउँदा ओपनरको योगदान केही पनि रहेन। कुशल भुर्तेल शून्यमै आउट भए भने आसिफ शेख ५ रनमा पभेलियन फर्केका थिए। कुशल यो समेत गरी टी २० अन्तर्राष्ट्रिय खेलमा पाँच पटक शून्यमा आउट भइसकेका छन्। यो नेपालको तर्फबाट सर्वाधिक हो।

यसपछि आएका सोमपाल कामी पनि १२ रनमै सीमित भए भने कप्तान रोहित पौडेलले २१ रन प्रहार गरे । यी चारै जना आउट हुँदासम्म नेपालको स्कोर ५० थियो। कुशल मल्ल (१३), सन्दीप जोरा (२२), गुलशन झा (६) र करण केसी (३) आउट हुँदा नेपालको स्कोर ९८ सम्म पुगेको थियो ।

लगभग यहीबाट नेपालले खेल गुमाइसकेको थियो । दीपेन्द्रले यसपछि खुलेर ब्याटिङ गर्दा कमेन्टेटरहरूले उनलाई सुपरहिरो, सुपरम्यानको संज्ञा दिएर प्रशंसा गरेका थिए।

रोहितले पारसको कीर्तिमान तोडे

रोहित पौडेलले यही खेलसँगै पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन्। रोहितको यो कप्तानी नेपालका लागि २८ औं खेलमा थियो। पारसले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कप्तानी गरेको २७ खेल थियो।

प्रतिक्रिया दिनुहोस्