नयाँ वर्षको शुभकामना आदान-प्रदानसँगै कलाकारलाई सम्मान



 काठमाडौं ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले विगतमा झै यस पटक पनि कलाकारहरूलाई सम्मान गर्दै नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गरेको छ । बरिष्ठ कलाकार राधेश्याम मुल्मीलाई प्रमुख अतिथि बनाई महासंघले शनिबार राजधानीमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा महासंघले विभिन्न कलाकारहरूको कलाकृति समेटेर बनाइएको क्यालेन्डर लोकार्पण गर्दै उक्त क्यालेन्डरमा समेटिएकोे चित्रकलाका सर्जकहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा हेभी इक्विपमेन्ट व्यवसायीहरूले आफ्नो व्यवसाय चलाउन नै मुस्किल परिरहेको भन्दै सरकारले व्यवसायको सिर्जना गरिदिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले आफ्ना उपकरणहरू राष्ट्र निर्माणमा अधिकतम प्रयोग गर्ने वातावरण सिर्जना गरिदिन सरकारसँग माग पनि गरे । उनीहरुले केन्द्र तथा प्रदेशमा छिटोछिटो सरकार फेरिरहँदा सरकार नागरिकप्रति जिम्मेवार र उत्तरदायी नदेखिएको टिप्पणी गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले हेभी इक्विपमेन्टका व्यवसायीहरुलाई अहिलेको परिस्थितिबाट निराश नभई धैर्य धारण गर्न आग्रह गर्दै भन्नुभयो– ‘अहिले काम भएन, इक्विपमेन्टहरू त्यतिकै थन्कियो भनेर कवाडीलाई बेचिनहाल्नुस्, सम्हालेर राख्नुस्, धैर्य गर्नुस्, स्थितिमा पक्कै पनि सुधार हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्