माओवादी माओवादबाट र एमाले व्यक्ति पूजाबाटमाथि उठे मात्र वाम एकता : महासचिव भुसाल



बुटवल ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिएपछि अहिलेको समीकरण बनेको बताउनु भयो ।

भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने पनि बताउनुभयो ।
समाजवादी प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा गरेको अन्तरक्रीया कार्यक्रममा भुसालले वामपन्थी एकताका लागि माओवादी केन्द्र माओवादबाट माथि उठ्नुपर्ने र एमाले व्यक्ति पूजाबाट माथि उठ्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभयो ।

आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन नतयार नभएको भुसालले भन्नु भयो । पार्टीभित्र र बाहिर सबै तिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती रियलाइजेसन गरेर नै यो समीकरणमा आएको भुसालले बताउनुभयो ।

ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउं नभएको तर्क गर्दै भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको औंल्याउनुभयो ।

पुर्व मन्त्री सोमप्रसाद पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल , समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,रुपन्देही अध्यक्ष विनोद परियार लगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्