गण्डकी : हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारको जिम्मेवारी



पोखरा।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ।

यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा नै मन्त्रीको शपथ लिएका थिए । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले कार्यविभाजनको पत्र शनिबार बिहानै आएको र सार्वजनिक बिदा भएकाले त्यो प्रमाणीत हुन केही समय लाग्ने बताए ।

गण्डकीमा ९ वटा मन्त्रालय छन् । मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि सोही दिन अधिकारीले ३ सदस्यीय मनित्रपरिषद् गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्