काँग्रेस सांसद खड्काले कब्जा गरेको जग्गामा प्रशासनले लगायो ताला



काठमाडौँ ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्दी गरेको छ । बिहीबार राति प्रहरीसहित पुगेको प्रशासनको टिमले लैनचौर बैंक्वेटसहितका भवनमा सिलबन्दी गरेको हो ।

स्काउटको तीन रोपनी जग्गा भाडामा लिएका कांग्रेस सांसद खड्काले थप ९ रोपनी जग्गासमेत कब्जामा लिएका थिए ।

सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्टले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि खड्काले अहिलेसम्म सो जग्गा छोडेका थिएनन् ।

उनले सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी नगरेको स्काउटले आरोप लगाइरहेको छ । खड्काले आफूले लिएको सो जग्गा र भवन अरूलाई भाडामा लगाइरहेको पाइएको छ ।

स्काउटको सम्पत्ति खाली गर्न अदालतले यस अघि नै आदेश दिए पनि सरकारले खड्कालाई अहिलेसम्म हटाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्