आशिषले ३६ वर्षको कीर्तिमान तोडे

एथ्लेटिक्समा ५ कीर्तिमान बन्यो



काठमाडौं ।

आशिष महरले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत छात्र जुनियर ट्रिपलजम्पतर्फ ३६ वर्षको जुनियर राष्ट्रिय कीर्तिमान तोडेका छन्।सुदूरपश्चिम प्रदेशका आशिषले १४.१९ मिटर उफ्रेर तीन दशक लामो राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्।

२०४४ सालमा धनवीर चौधरीले यही विधातर्फ १४.०६ मिटरको जुनियर राष्ट्रिय कीर्तिमान रचेका थिए । प्रतियोगिता स्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए।

सो विधातर्फ बागमती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेश्रो भए। छात्रातर्फ लुम्बिनीकी अनिशा थारु पहिलो भइन्। अनिशा १०.५७ मिटरको उँचाईमा उफ्रेकी थिइन् । सुदूरपश्चिमकी रेणुका ऐर दोश्रो तथा बागमतीकी अपेक्षा महतो तेश्रो भए।

दशरथ रंगशालामा जारी प्रतियोगितामा बिहीबार छात्र ट्रिपलजम्पमा गरी ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले राष्ट्रिय कीर्तिमान राखिन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

यस विधातर्फ लुम्बिनीकी गुञ्जा यादव दोश्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेश्रो बने । उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे।
छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते। उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे।

यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो। लुम्बिनी दोश्रो तथा सुदूरपश्चिम तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोश्रो र बागमती प्रदेश तेश्रो बने।

तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित जम्मा ५ जुनियर राष्ट्रिय कीर्तिमान बने। पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै कीर्तिमान रचे । दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्