विपिन जोशीको रिहाइको लागि इजरायली दूताबासको पहल

अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक छ : राजदूत खनान



काठमाडौं । 

झण्डै साढे ६ महिनाअघि हमासले इजरायलबाट बन्दी बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि नेपालस्थित इजरायली दूताबासले अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ ।

नेपालका लागि इजरायली राजदूत खनान गोदरले बिहीबार बिशालनगरस्थित आफ्नो निवासमा काठमाडौंस्थित अमेरिकी दूतावास नेपालका उपप्रमुख जेसन मिक्स, बेलायती राजदूत रब फेन र जर्मन राजदूत डा. थोमस प्रिन्जलगायतका विदेशी कुटनीतिज्ञहरू भेला गराइ विपिनको सुरक्षित रिहाईका लागि पहल गरिदिन विपिनका बाबु, आमा र बहिनीसँगसँगै अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभयो ।

गत अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीको परिवारप्रति लगातार सहानुभुति प्रकट गर्दै उनीहरूको पीडामा मल्हम लगाउने, घाइते ६ नेपाली विद्यार्थीको उपचार व्यवस्था र बन्धक बनाइएका विपिनको रिहाइका लागि निरन्तर प्रयत्नरत् देखिएका राजदूत खनानले भन्नुभयो– ‘नेपालको प्रयासले मात्र पुग्दैन । विपिनको सुरक्षित रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको पनि त्यतिकै जरुरत छ । त्यसैले तपाईहरु सबैले आफ्नो तर्फबाट जसरी सकिन्छ त्यसरी र सामाजिक संजालमार्फत पनि निरन्तर आवाज उठाइरहनुहोस् । अझ विशेषगरी अंग्रेजी र अरबी भाषामा, ताकि हमाससम्म सबैको आवाज पुगोस् ।’

राजदूत खनानको निवासमा आयोजित कार्यक्रममा पूर्वमन्त्री प्रभु साहले विपिनको रिहाइमा सरकारको पहल नपुगेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘अरु देशका बन्दीहरु रिहाई भइरहेका छन्, नेपाली किन भएन ? इजरायली दूताबासले मात्र कुरा उठाइरहेको देखिन्छ, तर सरकारले पर्याप्त पहल गरेको देखिएन । यसैसंग सम्बन्धित संसदीय समितिमा म आफैं पनि छु, तर कहिल्यै यो विषयमा कुरा उठेन ।’

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपिनको सुरक्षित रिहाईका लागि थप प्रयास गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दै प्रयास निरन्तर जारी राख्न आग्रह गर्नुभयो । विपिन कांग्रेसका नेता लेखकको निर्वाचन क्षेत्रका मात्रै नभई नातेदार पनि पर्छ ।

कार्यक्रममा विपिनका बुबा महानन्द जोशीले भक्कानिदै भन्नुभयो– ‘साढे ६ महिना भयो, एक्लो छोराको स्वर सुन्न नपाएको । जेलमै राखेको भए पनि दिन र रात गरेर एक वर्ष भइसक्यो तर उसको कुनै खबर पाउन सकेका छैनौं । मेरो छोरा निर्दोष छ, उसलाई घर फर्काइदिनुहोस्, म हमासलाई पनि बिन्ति गर्छु, सरकारलाई पनि बिन्ती गर्छु, जसरी भए पनि मेरो छोरालाई घर फर्काइदिनुस् । ’विपिनकी आमा पद्मा जोशीले छोराको बाटो हेर्दाहेर्दा आफू मानसिक रुपमा विक्षिप्त भैसकको बताउनुभयो । विपिनकी बहिनी पुष्पा जोशीले आफ्नो दाजुको रिहाइका लागि पहल गरिदिन अपिल गर्नुभयो ।

कार्यक्रममा विपिनका दाजु (ठूलोबुबाका छोरा) बासुदेव जोशीले भाइको सुरक्षित रिहाइमा सरकारको कुटनीतिक पहल नपुगेको गुनासो गर्दै भन्नुभयो– ‘सरकारको कतारसँग राम्रो सम्बन्ध छ । हमासका नेता इस्माइल हानिया कतारमै बस्नुहुन्छ । ख्वै त सरकारले हानियासम्म कुरा पु¥याउन सकेको?’ उहाँले विपिनको पहलका लागि कुटनीतिक पहललाई थप सक्रिय बनाउन सरकारसँग आग्रह गर्नुभयो । इजरायलबाट बन्दी बनाएका बन्दीहरुमध्ये केहीलाई विभिन्न चरणमा रिहाइ गरिसकिएको भए पनि अझै हमाससँग विभिन्न देशका गरी एक सय ३३ जना बन्दी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्