नवनियुक्त महालेखापरीक्षकले थाले कार्यभार 

निष्ठा र इमान्दारीतामा कुनै संझौता नगर्ने प्रतिवद्धता



काठमाडौँ। 

नवनियुक्त महालेखापरीक्षक तोयम रायाले बिहीबार देखि नै पदभार ग्रहण गरि कार्य आरम्भ गर्नुभएको छ ।
झन्डै एक वर्ष देखि रिक्त महालेखा परीक्षकको कार्यालयले बिहीबार देखि नयाँ नेतृत्वको रुपमा रायालाई पाएको छ ।राया सरकारका पुर्व सचिव हुनु्हुन्छ । उहाँ निजामती क्षेत्रमा रहदा इमान्दार र निष्ठावान प्रशासकको छवि बनाउनुभएको थियो ।उहाँको नेतृत्वमा महालेखापरिक्षकको कार्यालयलाई  कार्यालयको मुख्य उद्धेश्य अनुसार जवाफदेहीता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्ने विश्वसनीय संस्थाको रुपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

 नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई महालेखापरिक्षकमा नियुक्त गर्नुभएको थियो । नियुक्त भएलगत्तै रायाले प्रधानन्यायाधीश सँग शपथ लिएर पदभार ग्रहण गर्न महालेखा परीक्षकको कार्यालयमा पुग्नुभएको थियो ।

 पदभार ग्रहण गर्दै नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आफूले जवाफदेहीता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्ने विश्वसनीय संस्थाको रुपमा रहेको महालेखापरीक्षक कार्यालयको गरिमा उच्चो बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले काम गर्ने सवालमा निष्ठा, इमान्दारीता, व्यवसायिकतामा कुनै प्रकारको सम्झौता नगर्ने स्पष्ट पार्नुभयो  । सरकारी निकायमा बेरुजु बढ्ने क्रममा कमी आएको छैन। महालेखापरीक्षक रायाले बेरुजु नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने सवालमा पनि आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सार्वजनिक जवाफदेहीता र पारदर्शिता अभिवृद्धि गर्ने, सार्वजनिक स्रोतको परिचालनमा मितव्ययिता र कार्यदक्षता कायम गर्ने तथा तिनवटै सरकारको सुशासन प्रवर्द्धन  लगायतका महत्त्वपूर्ण कार्यमा प्रभावकारी  भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्