बादल र सरितालाई स्वर्ण



काठमाडौं ।

गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत दौडमा बुधबार स्वर्ण जितेका छन्।

८ सय मिटर दौडअन्तर्गत बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन्। दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो। पहिलो दिन मंगलबार दुवैले ४ सय मिटर दौडमा स्वर्ण जितेका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चे । सुदूरपश्चिम प्रदेशका विक्रम विष्ट दोश्रो तथा कर्णाली प्रदेशका प्रकाश बुढा तेश्रो भए । सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्साल दोश्रो तथा लुम्बिनी प्रदेशकी अनिशा थारु तेस्रो भए ।

छात्र लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर उफ्रेर पहिलो भए । सुदूरपश्चिमका सन्नी चौधरी दोश्रो तथा आशिष महर तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर हाम फालेकी थिइन् । गण्डकीकी निशा घर्ती दोश्रो तथा सुदूरपश्चिमकी रेणुका ऐर तेश्रो बने ।

छात्र/छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमती पहिलो भयो । छात्रमा मधेश प्रदेश दोश्रो तथा सुदूरपश्चिम तेश्रो भए । छात्रामा गण्डकी दोश्रो तथा सुदूरपश्चिम तेश्रो बने।

भलिबलमा सेमिफाइनल समिकरण तयार

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको भलिबलको छात्रामा सेमिफाइनल समीकरण तयार भएको छ। समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे। बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ।

पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले अन्तिम चारमा पुगे। चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ।

उसुमा पहिलो दिन चार स्वर्णको टुंगो

उसुको पहिलो दिन चार स्वर्ण पदकको टुंगो लागेको छ। आयोजक राखेपको सेमी कभर्डहलमा बुधबार भएको पुरुष थाइची छ्वानमा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कांस्य पदक प्राप्त गरे। महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अन्जना सरदारले कांस्य पदकमा चित्त बुझाइन् ।

पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कांस्य पदक जिते । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कांस्य पदक प्राप्त गरे ।

तेक्वान्दोमा बागमतीलाई ३ स्वर्ण

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमतीले सर्वाधिक ३ स्वर्ण जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते। छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ केजीमुनि सुप्रिया बजगाईं र छात्र ५१ केजीमुनि करण धोलीले बागमतीलाई स्वर्ण दिलाए।

छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ तथा छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते। छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारु तथा छात्र ४९ केजीमुनि कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते।

प्रतिक्रिया दिनुहोस्