सेमिफाइनलमा नेपालको सामना यूएईसँग



काठमाडौं ।

ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालको सामना संयुक्त अरब इमिरेट्स (यूएई) सँग हुने भएको छ । समूह ए बाट अपराजित रहँदै नेपाल अन्तिम चारमा पुग्दा समूह बी मा यूएई दोस्रो स्थानमा रहेको थियो । यस्तै अर्को सेमिफाइनल खेल आयोजक टोली ओमानको प्रतिस्पर्धा हङकङसँग हुनेछ ।

नेपाल र ओमान दुबै आ–आफ्नो समूहमा अपराजित रहेका हुन्। साथै नेपाल र ओमान आगामी अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकपमा खेल्ने टोली समेत हुन् । नेपालले आफ्नो समूह ए मा मलेसिया, कतार, हङकङ र साउदी अरेबियालाई हराएको हो। यस्तै समूह बी मा रहेको ओमानले यूएई, बहराइन, कुवेत र कम्बोडियालाई हराएको थियो।

यस प्रतियोगिताको फाइनल जित्ने टोलीले आगामी एसिया कप खेल्न पाउनेछ। गत संस्करणमा नेपाल पहिलो हुँदै एसिया कप खेल्न पाएको थियो। नेपालले पाकिस्तान र भारतका सिनियर क्रिकेट टोलीहरूसँग पहिलो पटक खेल्न पायो। अहिले यो उपाधि जितेमा फेरि एकपटक नेपालले पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।

पहिलो भेटमै साउदीको शसक्त चुनौती

नेपालले बुधबार भएको समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हरायो । वर्षाले बाधा तुल्याएपछि ८/८ ओभरमा खेलाइएको यो खेलमा साउदी अरेबियाले नेपाललाई शसक्त चुनौती दिएको थियो । जबकी नेपाल र साउदी अरेबिया टी २० मा पहिलो पटक आमना सामना भएको थियो ।

पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ७४ रनको विजयी लक्ष्य दिएको थियो। सो लक्ष्य नेपालले ४ विकेट गुमाएर प्राप्त गरेको थियो। नेपालले यति थोरै लक्ष्य पाउन पनि निकै संघर्ष गर्नुपर्‍यो। १५ रन हुँदा नै नेपालले कुशल भुर्तेल (०), आसिफ शेख (२) र कुशल मल्ल (२) लाई गुमाएको थियो।

यसपछि गुलशन झा र दीपेन्द्रसिंह ऐरी (१७ रन) ले टोलीको स्कोर ४८ मा पुर्‍याएपछि नेपालले जित्ने संकेत गरेको थियो। दीपेन्द्र आउट भएपछि गुलशन र कप्तान रोहित पौडेलले जितको औपचारिकता पुरा गरेका थिए । गुलशन ३२ रनमा र रोहित १६ रनमा नटआउट रहे।

प्रतिक्रिया दिनुहोस्