गणेशको जुनियरतर्फ राष्ट्रिय कीर्तिमान



काठमाडौं ।

गण्डकी प्रदेशका गणेश विकले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको जुनियर छात्र हाइजम्पमा मंगलबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ शील्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरेका हुन् । बागमती प्रदेशका अविनास सुनार (१.७५ मिटर) दोश्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेश्रो भए ।

सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सिमा श्रेष्ठ (१.३८ मिटर) दोश्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा (१.३० मिटर) तेश्रो भए ।

छात्र १५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते। उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्ड समयमा कर्णालीका अजय विक दोश्रो तथा ४ मिनेट २२.७ सेकेन्ड समयमा सुदूरपश्चिमका विक्रम विक तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढा ५ मिनेटमा ०४.४ सेकेन्ड समय लगाएर पहिले भइन्। सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेन्ड) दोश्रो तथा बागमतीकी अस्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेश्रो बने ।

छात्राको ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए। उनले ५१.५ सेकेन्डमा दूरी तय गरे। बागमतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोश्रो तथा कोशी प्रदेशका राकेश सार्की तेश्रो स्थानमा रहे। सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन् । दूरी पूरा गर्न सरिताले १ मिनेट ०२.३ सकेन्ड समय खर्चिन् । लुम्बिनीकी अनिशा थारु (१ मिनेट ०३.५ सेकेन्ड) दोश्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेश्रो भए ।

छात्रको १ सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो भए। उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड समय लगाए । बागमतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका चन्द्र बोहरा (११.५२ सेकेन्ड) तेश्रो भए।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन् । रितुले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गरिन्। गण्डकीका एन्जल अधिकारी (१३.६६ सेकेन्ड) दोश्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेश्रो भए।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन्। पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्