पुलिसले उचाल्यो जीतपुरसिमरा गोल्डकप उपाधि



बारा ।

मच्छिन्द्र फूटबल क्लबलाई टाईब्रेकरमा हराउँदैं नेपाल पुलिस क्लबले जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ। सिमरा रंगशालामा सोमवार राति भएको फाइनल खेलमा मच्छिन्द्रलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो।

जीतपुरसिमराको उपाधि पुलिसले जितेको यो पहिलो पटक हो । यसअघि छैटौं संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदा पुलिस उपाधिबाट बञ्चित भएको थियो। आठ वर्षपछि दोस्रो पटक फाइनल प्रवेश गरेको पुलिस उपाधि जित्न सफल भयो।

उपाधि जितेसँगै पुलिसले ट्रफिसहित १० लाख नगद प्राप्त गरेको छ भने मच्छिन्द्रले ५ लाख पाएको छ। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका बिमल घर्तीमगर घोषित भए । उनले टीभीएस स्कुटर प्राप्त गरेका छन् ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक पुलिसका सञ्जित श्रेष्ठ घोषित भए । उनले २५ हजार पाएका छन्। सर्वाधिक गोलकर्ताको पुरस्कार पुलिसका उज्वल राई र वीरगञ्ज युनाइटेडका फागुराम चौधरी घोषित भएका छन् । उनीहरुले जनही १२ हजार पाँच सय प्राप्त गरे ।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका प्रज्वल थापामगर घोषित भएका छन्। उनले १५ हजार पाएका छन् । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार पुलिसका गोलरक्षक अमित टमाटाले पाएका छन् । टमाटाले १० हजार हात पारेका छन्।

यसअघि निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय समेत गोलरहित बराबरी भएपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो।

टाईब्रेकरमा पुलिसका गोलरक्षक अमित टमाटाले उत्कृष्ट दुई बचाउ गर्दै टिमलाई उपाधि दिलाए । उनले मच्छिन्द्रका शौरभ लिम्बु र चन्दन दासको प्रहार रोकेका थिए । मछिन्द्रका लागि बिशाल तामाङ र दिवाकर चौधरीले मात्रै गोल गरे । यता पुलिसका कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए ।

मच्छिन्द्र ९ खेलाडीमा सीमित

निर्धारित र अतिरिक्त समयमा उत्कृष्ट खेल पस्किएको मच्छिन्द्र टाईब्रेकरमा भने चुकेको थियो । खेल अवधिमा पाएका उत्कृष्ट अवसरलाई मच्छिन्द्रका खेलाडीले सदुपयोग गर्न सकेनन्। पुलिसविरुद्ध लगातार दवाव कायम राखेको मच्छिन्द्र निर्धारित समय सकिन केही मिनेट बाँकी हुँदा ९ खेलाडीमा सीमित हुन पुगेको थियो।

खेलको ८४औं मिनेटमा मच्छिन्द्रका उत्सव राई र खेलको ८८औं मिनेटमा मनिष डांगी रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे। ९ खेलाडीमा रहेपछि मच्छिन्द्रले विभागीय टोली पुलिसविरुद्ध अतिरिक्त समयमा निकै संघर्ष गर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्