काठमाडौंका तारे होटलमा छ्याप्छ्याप्ती अखाद्य वस्तु

अखाद्य वस्तु बिक्री गर्ने १७ तारेसहित २१ होटल कारबाहीमा



काठमाडौं ।

काठमाडौंमै प्रतिष्ठित ठानिएका अधिकांश तारे होटलहरू कारबाहीमा परेका छन्। यहाँ रहेका अधिकांश दुई, तीन, चार र पाँचतारे होटलहरूले म्याद गुज्रिएका र मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने अखाद्य वस्तुहरू बिक्रीवितरण गरेको पाइएपछि उनीहरू कारबाहीमा परेका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले केही दिनअघि विभिन्न समूह बनाएर कामाडौंका सबै तारे होटलसहित २१ वटा ठूला होटलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा सबै तारे होटलहरूमा म्याद सकिएका खाद्य वस्तुहरू फेला परेको विभागको अनुगमन टोलीले जनाएको छ।

अनुगमन टोलीका एक अधिकृतका अनुसार पाँचतारे होटलहरूमा बाहिर सोचेकोभन्दा बढी विकृति रहेको पाइएको छ । ती अनुगमन अधिकृतले नेपाल समाचारपत्रसँग भने– ‘प्रायः सबै पाँँचतारे होटलको भान्छा र भण्डारणमा म्याद गुज्रिएको खाद्य वस्तु भेटिए भने कतिपय ठाउँमा त खानेकुराहरू नै घिनलाग्दो अवस्थामा रहेको पाइयो।’

विभागले काठमाडौंमा रहेका पाँच तारेलगायत विभिन्न तारे होटलहरूमा पहिलोपटक अनुगमन गर्दा होटलले प्रयोग गर्ने खाद्य वस्तुहरू अखाद्य रहेको फेला पारेको हो। विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले यसरी अखाद्य वस्तुहरू बिक्री वितरण गरेको पाइएपछि १७ वटा तारे होटललाई प्रतिहोटल ३ लाख रुपियाँ जरिवाना गरिएको जानकारी दिनुभयो। पहिलो पटककै अनुगमनमा प्रायः सबै होटलहरू कारबाहीमा परेको भए पनि पहिलोपटक भएकाले सबैको नाम गोप्य राखिएको छ।

तारे होटलको नाम सार्वजनिक गर्दा मुलुकको सिंगो पर्यटन विकासमा धक्का लाग्न सक्ने भएकोले एक पटकलाई सुध्रिने मौकास्वरूप जरिवाना मात्रै गरेर नाम गोप्य राखिएको विभागका सूचना अधिकारी पोखरेलले बताउनुभयो।

विभागले आगामी दिनमा नियमित रूपमा नै पाँचतारे होटलहरूमा अनुगमन गर्ने र फेरि पनि अखाद्य वस्तु प्रयोग गरेको पाइएमा कडा कारबाही गरी नाम सार्वजनिक गरिने जनाएको छ। पटकपटक अखाद्य वस्तु बिक्री गरेको पाइएमा यस्ता तारे होटलहरू खारेजीमा समेत पर्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्