रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध



काठमाडौँ ।

क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ। साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो।

सो खेलमा रोनाल्डोले अल हिलालका खेलाडीलाई धक्का दिएर लडाएपछि रातो कार्ड पाएका थिए। साथै रेफ्रीले रातो कार्ड दिएपछि रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो। दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अल नासरका अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका छन्।

रोनाल्डोको यस सिजनमा उत्कृष्ट प्रदर्शन रहेपनि अल नासर भने ट्रफी विहीन बन्ने भएको छ। साउदी लिगमा अल हिलालसँग १२ अङ्कले पछाडि रहेको अल नासर एशियन च्याम्पियन्स लिगमा पनि बाहिरिएको छ। रोनाल्डो अब अल नासरका लागि मे १ मा अल खालीजविरुद्ध किंग कपको सेमिफाइनलमा खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्