लेभरकुसेन पहिलो पटक बुन्डेसलिगा च्याम्पियन



एजेन्सी ।

बायर लेभरकुसेनले पहिलो पटक जर्मनीको घरेलु फुटबल लिग बुन्डेसलिगाको उपाधि जितेर इतिहास रचेको छ। लेभरकुसेन क्लब इतिहासमै पहिलोपटक घरेलु लिग फुटबलको च्याम्पियन बनेको हो। यो सिजनको सुरुआतबाटै उत्कृष्ट लयमा रहेको लेभरकुसेनले अन्तिम ५ खेल बाँकी छँदै यस सिजनको उपाधिमा आफ्नो नाम लेखाउन सफल भयो।

गत सिजन बार्यन म्युनिखले लगातार ११ सिजनसम्म बुन्डेसलिगा जितेर इतिहास रचेको थियो। तर, यसपालि बार्यनले सुरुआतबाटै लिगमा संघर्ष गरेपछि लेभरकुसेनले जारी सिजनमा एक खेल पनि नहारी आफ्नो उत्कृष्ट लयलाई सिजनभरि कायमै राखेको छ।

लेभरकुसेन यतिबेला सिजनमा एक खेल पनि नहारी च्याम्पियन बन्ने क्लबको दुर्लभ रेकर्ड नजिक छ । लेभरकुसेनले अब अन्तिम ५ खेलमा कुनै खेल नहारे अपराजित रहेर उपाधि जित्ने इतिहास बनाउने छ।

यो उपाधि जित्न अघिसम्म सन् २०००—०१ सिजनदेखि लेभरकुसेनलाई दुई पटक लिग च्याम्पियन बन्ने अवसर प्राप्त भएको थियो । २००१–०२ र २०१०–११ सिजन दुबै पटक लेभरकुसेन बोरिसिया डर्टमन्डसँग पछि लागेको थियो ।

लेभरकुसेनको शानदार जित

लेभरकुसेनेले आइतबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा पाहुना टोली वेर्डरमाथि ५–० गोलअन्तरको फराकिलो जित निकालेको थियो। यो जितसँगैं टोलीले पहिलो पटक उक्त उपाधि जितेर नयाँ इतिहास रच्न सफल भएको हो। टोलीको जितमा फ्लोरियन विट्जले ह्याट्रिक गरेका थिए। उनले खेलको ६८औं, ८३औं र ९०औं मिनेटमा गोल गरेका थिए। बाँकी दुई गोलमा भिक्टोर बोनिफेसले २५औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे भने ग्रानिट शाकाले ६०औं मिनेटमा गोल गरेका थिए।

च्याम्पियन बनेको लेभरकुसेन २९ खेलपछि ७९ अंकका साथ शीर्ष स्थानमा छ। गत सिजनसम्म च्याम्पियन बनेको बार्यन म्युनिख दोस्रो स्थानमा छ। नयाँ प्रशिक्षक जाभी अलोन्सोको नेतृत्वमा उत्कृष्ट देखिएको लेभरकुसेनले यसपालि २९ खेलसम्म पुग्दा एक खेल नहारी उपाधि जित्न सफल भयो। लेभरकुसेनले यो सिजन लिगमा २९ खेल खेलिसक्दा २५ खेल जितेको छ भने ४ खेल बराबरी खेलेको छ।

आइतबार राति उपाधि जित्ने खेल हेर्न लेभरकुसेनका समर्थकका कारण बे एरिना रंगशाला नै भरिभराउ भएको थियो। बुन्डेसलिगा जित्ने खेलमा टिमलाई समर्थन जनाउन तथा उत्सव मनाउन ठूलो संख्यामा घरेलु टोलीका समर्थक रंगशाला पुगेका थिए। उक्त खेल नजितेको भए लेभरकुसेनले उपाधिका लागि अर्को खेलसम्म कुर्नुपर्ने हुन्थ्यो। तर, सहज जितका साथ घरेलु मैदान र आफ्ना दर्शकसामु लेभरकुसेनले उपाधि चुम्यो।

प्रतिक्रिया दिनुहोस्