बुद्धिचाललाई विकास गर्ने लक्ष्य



काठमाडौं ।

नेपाल बुद्धिचाल महासंघको हालै भएको साधारण सभाबाट हेराकाजि महर्जनलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अध्यक्ष पदको लागि भएको निर्वाचनमा हेराकाजिले ४९ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी प्रविण भँडेलले ३१ मत प्राप्त गरेका थिए।

महासंघको कार्यवाहक अध्यक्षको पद भार ग्रहण गर्दै हेराकाजिले बुद्धिचाल खेलको विकास र विस्तार गर्ने कार्यमा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन्।

बुद्धिचाल खेलमा हेराकाजि कुशल रणनीतिज्ञको रुपमा परिचित छन्। महर्जनले विषम परिस्थितिमा रहेको बुद्धिचाल खेललाई नेपालमा विकास र विस्तार गर्न विशेष भूमिका निर्वाह गरेका छन् ।

हेराकाजिको बुद्धिचालमा प्रवेश

पूर्व अध्यक्ष हेराबहादुर स्थापित महासंघको अध्यक्ष रहँदा कार्य समितिमा प्रवेश गरेका हेराकाजी त्यसअघि बुद्धिचालका राष्ट्रिय खेलाडी थिए। २०५५ सालबाट खेलाडी जीवन शुरु गरेका उनले भारतमा २९ राष्ट्रले प्रतिस्पर्धा गरेको पाश्र्वनाथ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा अनरेटेडतर्फ उपाधि जितेका थिए। सोही वर्ष उनी आसाममा सम्पन्न भएको जुगल किशोर अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा पनि उपविजेता बनेका थिए।

बुद्धिचालको अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका महर्जनले तुर्किमिनिस्तानमा भएको एशियन इण्डोर चेस च्याम्पियनसिप, ४३ औं चेस ओलम्पियाड र न्युजिल्याण्डमा एशियन भेट्रान चेस च्याम्पियनसिपमा डेपुटी चिफ निर्णायकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै उनी सन् २०११ मा फिडे आर्बिटर हुनुका साथै २०१८ मा इन्टरनेशनल आर्बिटर बनेका थिए।

खेलाडी जीवनदेखि नै सक्रिय रुपमा बुद्धिचाल खेलको विकासमा होमिएका हेराकाजि त्यसपछि महासंघको सचिव, महासचिव, उपाध्यक्ष हुँदै २०८० सालको वैशाखमा सम्पन्न साधारण सभामार्फत वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। उनले २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारीमा समेत सम्हालेका थिए।

हेराकाजिको आगामी योजना

आगामी बैठकबाट नेपालमा संचालन हुने प्रतियोगिताबारे वार्षिक क्यालेन्डर प्रकाशित गर्ने अध्यक्ष हेराकाजिले योजनामा राखेका छन्। यस्तै शिक्षामा चेस कार्यक्रमलाई शसक्त रूपमा अघि बढाउने पनि बताए। उनका अनुसार यसले धेरै खेलाडीले विद्यालयहरूमा जागिर पाउनेछन्।

अध्यक्ष हेराकाजिले नेपाल समाचारपत्रलाई बताए—शिक्षामा चेस कार्यक्रमलाई प्रभावकारी बनाउनेछु । वागमती प्रदेश प्याब्सनसँग सम्झौताअनुसार यो कार्यक्रम ल्याएको हो। अहिले यो प्रभावकारीरूपमा लान सकेमा हजारौं बुद्धिचाल खेलाडीले काम पाउनेछन् । देशमा खेलाडीको बेरोजगारको समस्या केही हदसम्म पनि कम हुनेछ।

यसैगरी नेपाल बुद्धिचाल महासंघको आधिकारिक राष्ट्रिय प्रतियोगिताहरू चैत मसान्तसम्म सम्पन्न गर्ने पनि योजनामा छ। अध्यक्ष हेराकाजिको कार्यकालभित्र राष्ट्रपति रनिङ शील्डमा बुद्धिचाल खेल समावेश गर्नको लागि देशव्यापी रूपमा दवावमुलक कार्यक्रम संचालन गर्ने रहेको छ।

उनले बताए—सम्भवत जिल्ला संघमार्फत् जिल्ला खेलकुद विकास समितिमा र प्रदेश संघमार्फत् प्रदेश खेलकुद परिषद्मा ज्ञापनपत्रलगायत दवाब मूलक कार्यक्रम संचालन गर्ने र नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालमा राष्ट्रपति रनिङ शील्ड समावेशको लागि ज्ञापनपत्र दिने र वार्ता समेत गर्नुपरे त्यो पनि गरिन्छ।

प्राविधिक दक्ष जनशक्ति

प्राविधिक दक्ष जनशक्ति तयार गर्न आर्बिटर सेमिनार, बुद्धिचाल प्रशिक्षक प्रशिक्षण आयोजना गर्ने पनि योजना राखिएको छ। २०२४ सेप्टेम्बरमा हंगेरीमा ४५ औं चेस ओलम्पियाडको लागि खेलाडी छनोट गर्ने र छनौट पछि विशेष प्रशिक्षणको व्यवस्था मिलाउने पनि कार्य छ। अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा सहभागी हुने खेलाडीलाई हवाई सम्पूर्ण खर्च महासंघले व्यहोर्ने पनि उनले स्पष्ट गरेका छन् ।

प्रत्येक महिना एकमुष्ट भत्ता दिइने

राष्ट्रिय प्रतियोगितामा जति पनि विजेता छन् । त्यसमा पुरुष र महिला गरी २ जनालाई प्रत्येक महिना एकमुष्ठ प्रोत्साहन भत्ता दिने पनि योजना रहेको अध्यक्ष हेराकाजिले बताए। उनले बताए—यसले खेलाडीको मनोबल बढ्ने र यो सुविधा प्राप्त गर्न प्रतियोगितामा दरो प्रतिस्पर्धा हुने पनि अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्