मेसीको खेलमा ७२ हजार दर्शक



एजेन्सी ।

अमेरिकी घरेलु लिग मेजर लिग सकर (एमएलएस) अन्तर्गत लियोनेल मेसीको क्लब इन्टर मायामीको खेल प्रत्यक्ष हेर्न रंगशालामा साढ़े ७२ हजार दर्शक उपस्थित भएका छन्।

आइतबार बिहान भएको इन्टर मायामी र स्पोर्टिङ केसीबीच एमएलएसको नवौं चरणको खेल हेर्नका लागि कान्सास सिटीस्थित एरोहेड स्टेडियममा कूल ७२ हजार ६ सय १० जना दर्शक रंगशाला पुगेका थिए। यो आँकडा अमेरिकी लिग फुटबलमा एकै खेलमा सबैभन्दा धेरै दर्शक उपस्थित हुने चौथो खेल बनेको छ।

एरोहेड रंगशालाको कूल दर्शक क्षमता ७६ हजार ४ सय १६ रहेको छ। रंगशालाको कूल क्षमताको आधारमा उक्त खेलमा ३ हजार ८ सय ६ सिट मात्रै खाली रहेका थिए। उक्त खेलमा झट्ट हेर्दा रंगशाला शतप्रतिशत भरिभराउजस्तो देखिन्थ्यो।

उक्त खेलका क्रममा खिचिएका तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। अमेरिकी फुटबलमा सबैभन्दा बढी दर्शक पाउने यसअघिका तीन कीर्तिमानी खेल थिए। आइतबारको खेल चाँहीं चौथो बन्यो।

यसरी रंगशालामा दर्शक उपस्थित हुनुको प्रमुख कारण मायामीका कप्तान लियोनल मेसी भएको विश्लेषकहरु बताउँछन्। मेसीको प्रभावकै कारण लामो समयपछि रंगशालामा अत्यधिक दर्शक उपस्थित भएको विश्लेषकहरुले धारणा राखेका छन्।

मेसीको अनुबन्धसँगै मेसी खेल्ने मायामीका सबैजसो खेलमा दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको छ। उक्त खेलबारे अमेरिकी लिगले आफ्नो अफिसियल वेबसाइट र सामाजिक सन्जालमा पनि चर्चा गरेका छन्।

उक्त खेलमा मायामी अवे मैदानमा २–३ ले जित्न सफल भयो। मायामीको जितमा कप्तान मेसीले एक गोल र एक असिस्ट गरे भने लुइस स्वारेज र डिएगो गोमेजले समान एक–एक गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्