क्रिकेटमा विश्वकप छनोट गरेको वर्ष



 काठमाडौं । 
गत वर्ष नेपाली क्रिकेटमा सबैभन्दा सफलता भनेको टी २० विश्वकपमा स्थान बनाउनु हो । नेपालले अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न लागेको हो । नेपालको यो २०१४ पछि विश्वकप हुनेछ । तर, यही वर्ष नेपालका मात्रै नभएर विश्वकै उत्कृष्ट बलर सन्दीप लामिछानेलाई जेल सजायँ दिइयो ।

यस्तै दीपेन्द्रसिंह ऐरीले टी २० मा ९ बलमै अर्धशतक बनाएर विश्व कीर्तिमान बनाए । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पनि विश्व कीर्तिमान रच्यो । यही टोलीले कुनै प्रतियोगिता जित्यो भने कुनै प्रतियोगितामा पराजित भयो । ठूलो पुरस्कार भनेको सरकारले टी २० विश्वकप तयारीको लागि नेपाली टोलीलाई ५ करोड उपलब्ध गराउनु पनि थियो । चार वटा क्रिकेट मैदान तयार गर्ने पनि गत वर्ष योजना बन्यो । धनगढीको फाप्ला क्रिकेट मैदान, चितवनको गौतमबुद्ध क्रिकेट मैदान, काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान रहेका छन् । यसमध्ये त्रिवि र मूलपानीको क्रिकेट मैदान तयार गर्ने जिम्मा राष्ट्रिय खेलकुद परिषद्मा परेको छ ।

परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पर्याप्त बजेट आएमा मूलपानी मैदान तयार हुने विश्वास गरेका छन् । सरकारद्वारा एसीसी प्रिमियर कप जितेको नेपाली टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । त्यस्तै टोलीका अन्य व्यवस्थापक र सहायक प्रशिक्षकहरुलाई भने समान ३ लाख दिने निर्णय भएको थियो । नेपालले प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको थियो । नेपालले २१ वर्षपछि एसिया कपमा खेल्न पाएको थियो । पछिल्लो पटक सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा पुगेको थियो । प्रिमियर कप जितेकोमा नेपाली टोलीका प्रत्येक सदस्यलाई राष्ट्रिय वाणिज्य बैंकले १—१ लाख दिने घोषणा गरेको थियो । नेपालले एशियाकपमा विश्व क्रिकेटका महारथीमध्ये पाकिस्तान र भारतविरुद्ध खेल्न पायो ।

कीर्तिमानै कीर्तिमान
नेपालले चीनमा भएको १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फ विश्व कीर्तिमान बनायो । पहिलो पटक क्रिकेट खेलेको टोली मंगोलियाविरुद्ध नेपालले २ सय ७३ रनको कीर्तिमानी जित निकाल्यो । यस्तै नेपालले मंगोलियाविरुद्ध नै २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएर विश्व कीर्तिमान बनायो । यो टी २० अन्तर्राष्ट्रियमा पुरुष क्रिकेटतर्फ उच्चतम स्कोर हो ।

यसै खेलमा मंगोलियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गरेको विश्व कीर्तिमान अमर नै रहनेछ । यो कीर्तिमान बराबरी मात्रै गर्न सकिएला तर, तोड्न सकिँदैन । यही खेलमै कुशल मल्लले ३४ बलमा शतक प्रहार गरेर विश्व कीर्तिमानी बनाए । तर, उनको यो कीर्तिमानीलाई नेपालमै खेलिएको टी २० खेलमा नेदरल्यान्डस्का ब्याटरले उनकै सामु तोडे । यानि कि कुशलको विश्व कीर्तिमानी लगभग चार महिना टिकेको थियो ।
कुशल र रोहित पौडेलले मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ९३ रनको गरेको साझेदारी विश्व कीर्तिमानी हो । उनीहरूले न्युजिल्यान्डका डेभन कोन्वे र ग्लेन फिलिप्सले वेस्ट इन्डिजविरुद्ध २०२० मा गरेको १ सय ८४ रनको विश्व कीर्तिमानी साझेदारीलाई ओझेलमा पारेका थिए ।

पाकिस्तान र भारतसँग खेलियो
एशियाकपअन्तर्गत नेपाल पहिलो खेलमा पाकिस्तानविरुद्ध उनीहरुकै मुल्तान रंगशालामा खेल्दा २ सय ३८ रनले पराजित भयो । विश्वका नम्बर १ तथा टोलीका कप्तान बाबर आजमले उक्त खेलमा १ सय ५१ रनको शतकीय इनिङ खेलेका थिए । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४३ रनको विजयी लक्ष्यको जवाफमा नेपाल १ सय ४ रनमा समेटिएको थियो । तर, नेपाली खेलाडीले विश्वकै उत्कृष्ट बलरहरू शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफको बलिङको डटेर सामना गरेका थिए ।

भारतसँग १० विकेटले पराजित
यसपछि भारतविरुद्ध नेपाली टोलीले श्रीलंकाको क्यान्डीमा प्रतिस्पर्धा गरेको थियो । यो खेलमा अपेक्षा गरे भन्दा नेपाली खेलाडीले राम्रो खेले । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १० ओभरमा ६५ रनको साझेदारी गरेका थिए । पावर प्लेमा भारतविरुद्ध उक्त प्रदर्शन राम्रै मान्नुपर्छ ।

नेपालले भारतविरुद्ध ४८।२ ओभरमा २ सय ३० रन बनाएको थियो । भारत जस्तो देशसँग झण्डै पूरै ५० ओभर खेल्नु र २ सय माथि रन बनाउनु नेपालको लागि जित सरह थियो । वर्षाको कारण २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य तोकिएकोमा भारतले २०।१ ओभरमा पूरा ग¥यो । नेपाली बलरले भारतको विकेट भने लिन सकेनन् ।

घरेलु मैदानमा नेपालले उपाधि गुमायो
नेपालले त्रिवि मैदानमा भएको त्रिकोणात्मक टी २० आई सिरिज गुमाएको थियो । लिगमा चारै खेले जितेको नेपाल फाइनलमा यूएईसँग ४ विकेटले पराजित भएको थियो । नेपालले जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य दिएकोमा यूएईले १९।५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ५० रन जोडेका थिए । उनको यो टी २० आई करिअरको छैटौं अर्धशतक थियो ।

यस्तै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा हारेर घरेलु मैदानमा उपाधि गुमायो । सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिँएको थियो । तर ओमानका बिलाल खानले १० रन दिएपछि नेपालबाट उपाधि खोसिएको थियो । जबकी ओमानले सुपर ओभरमा २१ रन बनाएको थियो । यसअघि त्रिवि मैदानमा दुबै टोलीले समान १ सय ८४ रन बनाएका थिए । तर, नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टी २० विश्वकपमा स्थान बनाएको थियो । उता ओमानले समूह चरणमा सबै खेल जितेको थियो ।

घरेलु मैदानमा नेपालले गत वर्ष तेस्रो पटक उपाधि उचाल्न सकेन । नामिबियासमेत सम्मिलित त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्यान्ड्सले उपाधि जितेको थियो । फाइनलमा १ सय ८५ रनको लक्ष्य नेपालले दिएकोमा नेदरल्यान्ड्सले ४ विकेटले जित्न सफल भएको थियो । वर्षको अन्त्यमा भएको त्रिकोणात्मक टी २० सिरिजको फाइनल पनि नेपालले गुमायो । हङकङमा भएको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

पीएम कप एपीएफ र पुलिसले जिते

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिताको फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि जित्यो । योसँगैं एपीएफ ५ लाख र कोशीले ३ लाख नगद पुरस्कारको हकदार भए । प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उपाधि नेपाल पुलिस क्लबले जित्यो । पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि ६ विकेटले हराएर उपाधि जितेको थियो । पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मीसँग संयुक्त रुपमा उपाधि उचालेको थियो भने २०१९ मा दोस्रो उपाधि उचालेको थियो ।

क्यानद्वारा सन्दीप निलम्बित
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउने गरी निलम्बन ग¥यो । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । सन्दीपलाई काठमाडौ जिल्ला अदालतले ८ वर्ष जेल तथा ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

२३ वर्षीय सन्दीप नेपालका प्रमुख स्पिनर हुन् । उनले नेपालबाट ५१ ओडीआईमा १ सय १२ विकेट लिएका छन् । उनी ओडीआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने बलर समेत हुन् । उनले अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तमान तोडेका थिए । त्यस्तै उनले नेपालबाट ५२ टी २० आई खेलमा ९८ विकेट लिए ।
रोहितको १ हजार रन पूरा
ओमानमा जारी एसीसी प्रिमियर लिग कपमा नेपालका कप्तान रोहित पौडेलले १ हजार रन पुरा गरेका थिए । उनले टी २० लिगअन्तर्गत चैत ३० गते भएको मलेसियाविरुद्ध खेलमा १ हजार रन पुरा गरेका थिए । यो खेल नेपालले ५ विकेटले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्