२०८० सालमा नेपाली खेलकुद



हरेक नयाँ वर्षको सुखद आगमनसँगै हामीले बिदा लिएको वर्षलाई पनि मूल्याङ्कन गर्ने गर्छौ । एक बर्षभरि गरेका क्रियाकलापहरुलाई पुनः एकपटक सरसर्ती सम्झिने गर्छौ । यही सन्दर्भमा वर्ष २०८० मा नेपालको खेलजगतमा भएका केहि महत्वपूणर् प्रतियोगिताहरुलाई सम्झिनु पर्ने हुन्छ । हरेक वर्षको क्यालेन्डरमा अटाउने अनगिन्ती प्रतियोगिताहरु सहित हरेक सालहरुमा झैं २०८० मा पनि थुप्रै खेलकुद गतिविधिहरु भए । जसको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ।

त्यसैगरी नेपालकै सर्वाधिक चर्चित खेल फुटबलको कुरा गर्ने हो भने वर्ष २०८० मा उतारचढावपूर्ण रह्यो । एकातिर पुरुष फुटबलले लगातार निरासाजनक प्रदर्शन गर्दा महिला फुटबलले भने सम्मानजनक प्रदर्शनलाई कायम राख्न सफल भयो । पुरुष फुटबलको कुरा गर्दा फिफा विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणमा लाओसलाई हराउँदै दोस्रो चरणमा प्रवेश गर्नु बाहेक अन्य नतिजा सम्झनलायक बन्न सकेन । किनभने फिफा विश्वकप छनोटको दोस्रो चरणमा यूएई, यमन र बहराइनसँग कुल १४ गोल बेहोरेर एक गोल पनि फर्काउन नसक्नु एउटा लज्जाजनक नतिजा हो । त्यति मात्रै होइन, आफ्नो घरेलु मैदानमा हुनुपर्ने बहराइनविरुद्धको म्याच पनि अखिल नेपाल फुटबल संघ ९एन्फा० को गैर जिम्मेवारीपूर्ण हर्कतका कारण अर्को शर्मनाक घटना बन्यो ।

अर्कोतिर महिला फुटबल खेलाडीहरुले भने गर्विलो प्रदर्शन गरेर २०८० साललाई सम्झनलायक बनाए । पश्चिम एसियाको प्रतिष्ठित महिला फुटबल प्रतियोगिता वाफ च्याम्पियनशिपमा नेपाली महिला फुटबलले वाहवाही बटुल्न सफल भयो । गत फागुनमा भएको प्रतियोगितामा नेपाली टोलीले सर्वाधिक १७ गोल गर्दै ४ गोल बेहोरेका थिए। जसमा नौ गोल गरेकी नेपालकी सवित्रा भण्डारी प्रतियोगीताकै सर्वाधिक गोलकर्ता बन्नु उपलब्धिपूर्ण रह्यो । त्यतिमात्रै होईन, सवित्राले इजरायली क्लब हुँदै फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा आबद्ध हुनु पाउनु भनेको नेपाली महिला फुटबल खेलाडीले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता पनि हो। दक्षिण एसियामा सर्वाधिक ५३ अन्तराष्ट्रीय गोल गरेर नयाँ कीर्तिमान बनाएकी सवित्राले फ्रान्सको शीर्ष डिभिजनमा पनि गोल गर्न सफल भएकी छन।

त्यसैगरी राष्ट्रिय महिला फुटबल टोलीका अन्य ६ खेलाडी पनि भारतीय महिला लिगका ३ फरक क्लबमा अनुबन्धित भए । मिडफिल्डरद्वय दिपा शाही र प्रिती राईले किकस्टार्ट एफसी,नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक एन्जीला तुम्बापो सुब्बा र रक्षक गीता राना सेथु एफसीमा र फरवार्ड रश्मीकुमारी घिसिङ र मिडफिल्डर अमृता जैसी स्पोर्ट्स ओडिसामा आबद्ध भएकी थिईन।

एकातिर पुरुष फुटबलको लिग म्याच सफलतापूर्वक सम्पन्न हुँदा महिला फुटबल लिगको भने कुनै नामोनिसानसम्म भेटिएन । नेपालमा वार्षिक क्यालेन्डरको टुङ्गो नलाग्दा अधिकांश खेलाडी अस्ट्रेलिया पलायन भइरहँदा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्ट र डिफेन्डर अनन्त तामांग भारतीय लिग क्लबमा अनुबन्धित भएका थिए ।

२०८० सालमा नेपाली फुटबल

नव प्रवेशी चर्च ब्वाइज क्लब पहिलो सिजन नै सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बन्न सफल भयो । २५औं चरणको खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको थियो । चर्च ब्वाइज डिभिजन ‘सी’, ‘बी’ र ‘ए’ हुँदै च्याम्पियन बन्ने मनाङ–मर्स्याङ्दीपछि दोस्रो क्लब बन्यो । गत असारको दोस्रो साता नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२३ बाट बाहिरिएको थियो । समूहको अन्तिम खेलमा पाकिस्तानलाई १-० ले पराजित गरेपनि नेपाल अर्को चरणमा प्रवेश गर्न असफल रह्यो । नेपाल समूहको पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो । असारकै अन्तिम साता बंगलादेशमा भएको मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै नेपालले सिरिज जितेको थियो । टाइब्रेकरमा बंगलादेशलाई ४-२ ले हराउँदै नेपाली महिला टोली च्याम्पियन बनेको थियो।

गत साउनको चौथो साता मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको थियो । भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्रले पहिलो पटक दोस्रो चरणको यात्रा तय गरेको थियो । तर, त्यसको एक सातापछि कोलकातामा भएको दोस्रो चरणको खेलमा भारतको मोहन बगानसँग ३-१ ले पराजित भएपछि मछिन्द्र फुटबल क्लब एएफसी कपको छनोटबाट बाहिरिएको थियो ।

गत भदौको पहिलो साता भारतमा भएको डुरान्ड कपबाट नेपालको त्रिभुवन आर्मी क्लब बाहिरिएको थियो। समूह चरणको आफ्नो अन्तिम खेलमा आर्मी हैदरावाद एफसीसँग ३–० ले पराजित भएपछि प्रतियोगितबाट बाहिरिएको थियो । भदौको दोस्रो साता नेपाली महिला फुटबल टोली १९औं एसियाली खेलकुद (एसियाड)को आफ्नो अन्तिम खेलमा हारबाट जोगिएको थियो । हाङ्गचौमा भएको खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका थिए ।समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको थियो । असोजको अन्तिम साता नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणमा लाओसलाई समग्रमा २-१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । तर, दोस्रो चरणमा भने यूएई, यमन र बहराइनसँग पराजित हुँदै नेपालको छनोट हुने सम्भावना समाप्त भइसकेको छ।

गत मंसिरमा ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको थियो । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई शनिबार ३-२ गोलअन्तरले पराजित गर्दै ललितपुर च्याम्पियन बन्न सफल भयो। त्यसैगरी गत फागुनमा चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले चीनको प्रान्तीय टोली युशु युवा टोलीलाई ५-१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो ।

गत फागुनको अन्तिम साता नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता बन्यो। साउदी अरबको जेद्दाहमा सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको थियो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको थियो । उक्त हारसँगै नेपाल ११औं पटक फाइनलमा उपाधि जित्न असफल भयो ।

त्यसैगरी नेपाली खेलको जगतको अर्को सफल खेल क्रिकेटलाई समग्रमा हेर्दा २०८० उपलब्धिपूर्ण मान्नुपर्ने हुन्छ । नेपालले थुप्रै अन्तर्राष्ट्रीय प्रतियोगिता खेल्नुका साथै उत्कृष्ट प्रदर्शन गर्यो। नेपालले वान डे इंटरनेसनल क्रिकेटमा भारत, वेस्ट इण्डीज, जिम्बाब्वे जस्ता टेस्ट राष्ट्रसँग खेल्नुका साथै केहि बलिया एसोसिएट राष्ट्रहरुलाई पराजित पनि गर्यो।

नेपालका दुई टोली पहिलो पटक एकै वर्ष विश्वकपमा छनोट पनि भयो। नेपालको सिनियर टोली र यू१९ टोली दुबै टोली २०२४ को विश्वकपमा छनोट भयो । नेपाली यू-१९ टोलीले गत जनवरी १३ देखी फेब्रुअरी ४ सम्म श्रीलंकामा विश्वकप खेलेको थियो । त्यस्तै, नेपालले २०२४ जुन ४ देखी ३० सम्म वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । नेपालले एसिया कप लगायत अन्य थुप्रै प्रतियोगिताहरु सहभागी भएर उपाधि पनि जितेका छन।

गत चैतको दोस्रो साता टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टि२० सिरिज २-० ले जितेको थियो । नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई टि२० विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत माग गरेको ५ करोड रुपैयाँ निकासा गर्नु अर्को सुखद कुरा बन्यो । माघमा नेपाल क्रिकेट संघ ९क्यान० ले ग्रेड निर्धारण गरी क्रिकेट खेलाडीहरुलाई मासिक रुपमा तलबको ब्यवस्था गर्नु अर्को सुखद पक्ष रह्यो ।

फागुनको पहिलो साता आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो । गत माघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी छँदै क्यानाडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको थियो । माघमा नै भएको आइसिसी यू-१९ विश्वकपमा नेपालले अन्तिम खेलमा भारतसँग १ सय ३२ रनले पराजित भएको थियो । हारसँगै नेपालले सुपर सिक्स चरणमा विना अंक यात्रा समाप्त गरेको थियो ।

गत पुसमा बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ९ क्यान० ले घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउने गरि निलम्बन गरेको थियो । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेपछि क्यानले निलम्बन गरेको थियो । अदालतले सन्दीपलाई ८ वर्ष जेल सजाय सहित ३ लाख जरिवाना र युवतीलाई २ लाख आर्थिक क्षतिपुर्ती तोकेको थियो ।

मङ्सिरमा नेपाल एसिसी यू-१९ एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो । मङ्सिरमा नै नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको थियो ।

कार्तिकमा ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको थियो । गत कार्तिकमा नै नेपाल १० वर्षपछि टि२० विश्वकपमा पुग्न सफल भयो । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टि२० विश्वकपमा टिकट काट्यो । नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।

गत कार्तिकमा नेपालले युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै एसिसी यू१९ प्रिमियर कपको उपाधि जितेको थियो ।

गत असोजको तेस्रो साता नेपाल १९औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालले समूह चरणमा भने मंगोलियालाई २ सय ७३ रनले हराएर एक दर्जनभन्दा बढी कीर्तिमान बनाएको थियो ।

गत भदौमा नेपाल आफ्नो ओडिआई क्रिकेट इतिहासमा पहिलो पटक १० विकेटले पराजित भएको थियो । एसिया कपमा भारतसँग १० विकेटको हार ओडिआईमा नेपालले विकेटको हिसाबमा ब्यहोरेको सबैभन्दा ठूलो हार बनेको छ । भदौमा नै नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जितेको थियो ।

गत साउनमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । साउनमा नै नेपाल एसिसी इमर्जिङ एसिया कपबाट बाहिरिएको थियो । असारमा नेपालले एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको थियो । नेपालले लगातार तेस्रो पटक उक्त उपाधि जितेको हो ।

असारकै तेस्रो साता जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेर बाहिरिएको थियो । सातौं स्थानको लागि आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्दै बाहिरिएको थियो । गत बैसाखमा नेपाल २१ वर्षपछि एसिया कपमा स्थान बनाउन सफल भयो । एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो ।

२०८० मा अन्य खेल गतिविधि

बैसाख

नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले भारतको जम्मु कस्मिरमा भएको विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा कुङफुको सान्डामा स्वर्ण जितेका थिए । नेपाल बक्सिङ संघका बोर्ड सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले अन्तर्राष्ट्रिय बक्सिङ संघ ९आइबिए० राष्ट्रिय संघ समितिको सदस्यमा मनोनित भएका थिए । नेपालकी चन्दु शाहीले अस्ट्रेलियाको गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा महिला ३० वर्षमुनि एकल पुम्सेमा स्वर्ण जितेकी थिईन् । नेपालका अशोक खड्काले जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूह अन्तर्गत पुम्सेतर्फ ६।२७ अङक बनाएर रजत पदक जितेका थिए । घरेलु गतिविधिमा सक्रियता बढाउदै गएपछि नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता प्राप्त गर्यो । साग स्वर्णधारी पुनम श्रेष्ठले किर्गिस्तानको बिसकेक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा महिला ७० केजीमुनिको प्रतिस्पर्धामा कांस्य जितेकी थिईन् ।

जेठ

थाइल्यान्डमा हाइल्यान्ड प्रमोशन अन्तर्गत आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गर्दै विभिशा श्रेष्ठ पहिलो नेपाली महिला व्यवसायिक बक्सर बनिन। नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा सुवास तामाङ र सदभाव आचार्यको जोडीले नेपाललाई स्वर्ण पदक दिलाएको थियो।नेपालका हरिकृष्ण विष्टले वेलम्यान समर रन २०२३ को उपाधि पनि जितेको थियो ।

असार

नेपालका सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित मोरिफिल्डमा भएको डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जिटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । त्यस्तै, नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सिनियर पुरुष एकल कातामा स्वर्ण पदक जितेका थिए । त्यसैगरी आबुधाबी स्पोर्टस काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टसको आयोजनामा भएको रिम मल इन्डोर रनमा नेपालका हरिकृष्ण विष्टले १० किमि दौड ३६ मिनेट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका थिए । त्यसअघि गत त्यस्तै माल्दिभ्सको मालेमा भएको १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका नेपालका ललित धिमालले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए।फाइभ नेसन बास्केटबल च्याम्पियनसिपमा नेपाल सेमीफाइनलमा पराजित भएको थियो । नेपाललाई अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि ६१–६० ले पराजित गर्दै भुटान फाइनलमा पुगेको थियो ।

साउन

नेपालकी नन्दा बस्यालले कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा स्वर्ण पदक जितेकी थिईन । त्यस्तै, प्लेयर्स ब्याटल अन्डरग्राउन्ड ९पब्जी० मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स ९डिआरएस० गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको थियो ।

भदौ

ब्राजिलको रियो डि जेनेरियोमा भएको दोस्रो आइएसएफ जिम्न्यासाइड–२०२३ मा बक्सिङबाट नेपालकी प्रकृती थापाले ५१ केजी तौल समुहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा कांश्य पदक जितेका थिए। भियतनामको दा नाङमा सम्पन्न १९ औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका निश्चल धामीले ४८ केजी र सुदिप नेपालीले ४५ केजी तौल समूहमा रजत पदक जितेका थिए ।थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १२ नेपाली खेलाडीले पदक जितेका थिए । ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा बिशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रजनी श्रेष्ठले ५५ केजी शारीरिक सुगठन स्पर्धामा स्वर्ण जितेका थिए। अन्तर्राष्ट्रिय किक बक्सर अविरल घिमिरे ‘हिमालय चितुवा’ ले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीपमा दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई नकआउटको आधारमा हराउँदै उपाधि जितेका थिए ।

असोज

एसियाली खेलकुदको १९औं संस्करणमा नेपालका लागि एरिका गुरुंगले एक रजत र महिला कबड्डी टोलीले एक कांस्य जितेपछि नेपाल पदक तालिकाको ३३औं स्थानमा रह्यो ।

कार्तिक

चीनको हाङ्गचौमा भएको एसियन पारा गेम्स २०२२ मा तेक्वान्दोकी पलेशा गोवर्द्धनले ऐतिहासिक कास्य पदक जित्न सफल भईन् । त्यसैगरी बंगलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपालका विष्णु खत्रीले पुम्से स्पर्धामा रजत पदक तथा लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टोलीले टिम पुम्सेमा कांस्य पदक जितेको थिए ।

मङ्सिर

नेपाली टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशमाभएको विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यु १८ जुनियर टेनिस प्रतियोगिताको महिला युगलतर्फ रजत पदक जितेकी थिईन् । मलेसियाको पेनाङमा भएको ३४औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पाले दुईवटा रजतर सिंहवीर लिम्बु र शुलभ मालीले एक-एक कांस्य जितेका थिए। २९ स्वर्ण, २६ रजत र ६ कास्य पदक जितेर नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पिनसिपमा टिम च्याम्पियन बनेको थियो ।

पुस

नेपालको द रियल सोल्जर्स ९डीआरएस० ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गर्दै पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर ९३ करोड ८६ लाख नेपाली रुपैयाँ० पुरस्कार जितेको थियो । नेपालकै अर्को टोली ट्रेन्ड टु किल १३औं स्थानमा रहेर कुल १ लाख ३२ हजार ५ सय ९१ करोड ७५ लाख० अमेरिकी डलर प्राप्त गरेको थियो । भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्सको पुरुष ६५ केजीमा मुकेश लुइटेल खत्रीले, पुरुष ६० केजीमा किशोर नेगीले, महिला ४८ केजीमा प्राप्ति बतासले र ५१ केजीमा परिका बतासले स्वर्ण जित्न सफल भएका थिए । चन्द्रागिरि नगरपालिका-१० सतुगंल बोसिगाउँको धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडीले भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ११ स्वर्णसहित १५ पदक जितेका थिए ।

माघ

भारतमा भएको जुगाड खुल्ला स्केटबोर्ड च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको थियो । नेपालका तेन्जीन नामडोल रायन गुरुङले भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपको २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेका थिए । भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन कांस्य गरी चार पदक जितेको थियो ।

नेपालका अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका थिए । सो प्रतियोगितामा खेल सञ्चालन गर्ने आठ देशका १२ रेफ्रीबीच अशोक सर्वश्रेष्ठ चुनिएका थिए ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले प्रोफेसनल गल्फ टुर अफ इण्डिया ९पिजीटीआइ० को फुल कार्ड प्राप्त गर्न सफल भए । त्यसअघि गत पुसको पहिलो साता तामाङले आइजीयु १ सय २२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका थिए । नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो । भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन कांस्य गरी चार पदक जितेको थियो ।

नेपालका धावक हरि रिमालले हङकङमा सम्पन्न चाइना कोस्ट म्याराथनअन्तर्गत हाफ म्याराथन १ घण्टा १९ मिनेट ३२ सेकेन्डमा पूरा गरी च्याम्पियन पहिलो नेपाली धावक बने ।नेपालका भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनको पुरुष ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जित्ने क्रममा निर्धारित दूरी २ घण्टा ४७ मिनेट ८ सेकेन्डमा पूरा गरेका थिए । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब अन्तर्राष्ट्रिय ढाका म्याराथन २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरी राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिईन ।

फागुन

नेपाली बक्सर चन्द्रबहादुर थापाले इटालीको मिलानमा भएको पेरिस ओलम्पिक छनोटको पुरुष ५१ केजीमा ताजकिस्तानका साफिएभ मेहरोनलाई हराए पनि दोस्रो खेलमा जापानी बक्सर सँग पराजित भएका थिए। भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा नेपालले ‘हेड टु हेड’ मा १२० अंक जोड्दै स्वर्ण तथा स्लालममा ८० अंकसहित रजत जित्दै समग्रमा २६० अंकका साथ दोश्रो स्थान ओगट्यो ।

तेक्वान्डोकी पलेशा गोवर्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका लागि समेत छनोट भईन् । चीनमा भएको एसियन छनोटमा पलेशाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै पारा ओलम्पिकमा स्थान पक्का गरेकी हुन् ।पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन् ।

चैत

नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले थाईल्याण्डमा भएको १९औं मुवाँथाइ विश्व च्याम्पियनसिपको पुरुष ५४ केजीमा स्वर्ण पदक जित्दै विश्व च्याम्पियनसिपको सेमी प्रो मा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बने । एरिका गुरुङले अमेरिकाको‌ टेक्ससमा भएको युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यु २१ महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण तथा महिला ६८ केजी माथि तौल समूहमा रजत पदक जितिन ।

२०८० सालमा दिवंगत भएका नेपाली खेलकर्मी

गत वर्षको भदौ १ गते फिफा सहायक रेफ्री विक्रम चौधरीको असामयिक निधन भयो । नियमित प्रशिक्षणका क्रममा ह्रदयघातका कारण चौधरीको निधन भएको थियो ।गत असोजमा धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोजकुमार श्रेष्ठ बिहीबार मृत फेला परेका थिए । २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

गत कार्तिक २९ मा गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको थियो ।गत मङ्सिर १५ मा एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको थियो । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए ।

गत मङ्सिर १५ मा नै राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन भयो । ७५ वर्षे थापाको हृदयघातका कारण निधन भएको थियो ।गत माघको १३ गते नेपाली राष्ट्रिय बक्सिंगका पूर्व प्रशिक्षक मदनकुमार निधन भएको थियो । थाइल्यान्ड हुँदै म्यान्मारका लागि उडिरहेकै विमानभित्रै उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्