जनप्रतिनिधि निर्वाचित भएको २२ महिनामा ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिए



रौतहट ।

रौतहटको एउटा यस्तो पालिका छ जहाँ जनप्रतिनिधि छनौट भएको २२ महिनामा नौ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । दोस्रो स्थानीय तहबाट निर्वाचित वृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीको बाइस महिनाको कार्यकालमा नौ  जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।

 नगर पमुख कुर्मी निर्वाचित भएपछि कार्यरत प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव लाई सरुवा गराएर उपसचिव खिमबहादुर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतको ज्रिम्मेबारी दिइएको थियो । प्रमुख प्रशासकीय अधिकृत भुजेलको कार्यकालमा जनप्रतिनिधिमा बेमेल हुनुको साथै व्यापक अनियमितता भएको भन्दै विभिन्न राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिहरु नै आन्दोलित भएका थिए । उनको कार्यकालमा चेतनामुलक कार्यक्रम गर्न करौडौ रुपैया पेश्कि दिइएको थियो भने विकासको गति शून्यको स्थितिमा रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत फेरिएसँगै कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ताको  निकास बाहेक विकास हुन नसकेको बताइएको छ । भुजेल हटाएर प्रमुख प्रशासकीय अधिकृतको रूपमा ओमप्रसाद पाण्डेलाई जिम्मेवारी दिइएपनि उनी लामो समय कार्यरत रहन सकेनन् । उनको सरुवा भएपछि लामो समय रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सोही पालिकामा छैटौँ तहका स्वास्थ्य शाखा प्रमुख रासनारायण पटेललाई २०७९ साल असार महिनाको अन्तिम सातामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३० गतेसम्मको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि साउन १ गतेबाट फेरि सो पालिका प्रशासकीय अधिकृत विहीन बनेको थियो ।

 २०८० असोज २६ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरेन्द्र प्रधानलाई पत्र दिएपनि उनी हाजिर हुन ढिलाइ गरेको भन्दै मन्त्रालयले कार्तिक १ गते पुनः सोही पालिकामा कार्यरत स्वास्थ्यतर्फका रासनारायण पटेललाई आर्थिक कारोबार गर्ने गरी जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको थियो । मन्त्रालयले दुई जनाको जिम्मेवारी दिएपछि गत कार्तिक २ गते पटेललाई नगरप्रमुख र प्रधानलाई उपप्रमुखले सो पालिकामा हाजिर गराएर जनप्रतिनिधि बीच फाटो रहेको तितो यथार्थ  सार्वजनिक भएको थियो । विवाद सिर्जना भएपछि पटेलको जिम्मेवारी खोसिएको थियो भने प्रधानलाई रौतहटकै फतुवा विजयपुर नगरपालिकामा सरुवा गरिएको थियो ।

जनप्रतिनिधिहहरुले आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत खोज्दा लामो समय वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको थियो । प्रशासकीय अधिकृतविहीन भएकै बेला सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत रञ्जयकुमार पटेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाए पनि उनलाई अनधिकृत चेक काट्न दबाब दिएपछि उनी लामो समय टिक्न सकेनन् ।

गत फागुन महिनामा चन्द्रपुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको थप जिम्मेवारी दिएपछि उनी पनि लामो समय टिक्न सकेनन् । नवौँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भुजेललाई नगरप्रमुख विनोदप्रसाद कुर्मीले हाजिर गराएपछि  नगर उपप्रमुख संगीतादेवीराम असन्तुष्ट बनेकी छन् । नगर उपप्रमुख संगीता रामले  नगरपालिकामा बेथिति ल्याउनेलाई नै प्रमु्ख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनु आपत्तिजनक भएको बताइन् । भुजेलकै पालामा निर्वाचित जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता विभिन्न माग राख्दै डेढ महिना लामो रिले अनशन बसेका थिए । नौ पटकको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुनः उनै भुजेल खटिएका छन् । नगरप्रमुख  विनोद पटेलले जो प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपनि धम्काएर लखेट्ने प्रवृति जनप्रतिनिधिमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्