महिला खेलाडी चम्केको २०८० को नेपाली खेलकुद



कविरस शर्मा

हरेक सालझैं २०८० मा पनि खेलकुदसम्बन्धी धेरै गतिविधि भए। तीमध्ये १९औं एसियाली खेलकुदको नाम अग्रपंक्तिमा आउँछ। जसमा महिला खेलाडीले नेपाली खेलकुदको इज्जत बढाए।

गतअसोज ६ देखि २१ सम्म चीनको हाङ्चौमा भएको एसियाकै सबैभन्दा ठूलो खेल उत्सवमा नेपालले एक रजत र एक कांस्य जितेर पदक तालिकाको ३३औं स्थान ओगट्यो। ती दुवै पदकमा महिला खेलाडीले नाम लेखाए। एरिका गुरुङले करातेबाट रजत र महिला कबड्डी टोलीले नेपाललाई कांस्य पदक दिलाए।

त्यतिमात्रै होइन, तेक्वान्दोकी महिला खेलाडी पलेशा गोवद्र्धनले पनि चीनकै हाङ्चौमा भएको एसियन पारा गेम्समा ऐतिहासिक कांस्य पदक जितेर नेपाली खेलकुदमा नयाँ इतिहास रचिन्। पलेशा एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्।

त्यतिमात्र होइन, चीनमा नै भएको एसियन छनोट चरण पार गरेर पलेशा पेरिसमा हुने पाराओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनिन्। त्यसैगरी, महिला फुटबल टोली, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, बडी बिल्डिङकी रजनी श्रेष्ठ र सनम मूलगुठी ती महिला खेलाडी हुन् जसले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाए ।

अब कुरा गरौं नेपालकै सर्वाधिक चर्चित खेल फुटबलको । वर्ष २०८० मा नेपाली फुटबल उतारचढावपूर्ण रह्यो। एकातिर पुरुष फुटबलले लगातार निराशाजनक प्रदर्शन गरिरहँदा महिला फुटबलले वाहवाही बटुल्यो । पुरुष फुटबलको कुरा गर्दा फिफा विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणमा लाओसलाई हराउँदै दोस्रो चरणमा प्रवेश गर्नुबाहेक अन्य नतिजा सम्झनलायक बन्न सकेन।

किनभने साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिनु र फिफा विश्वकप छनोटको दोस्रो चरणमा युएई, यमन र बहराइनसँग कुल १४ गोल व्योहोरेर एक गोल पनि फर्काउन नसक्नु एक लज्जाजनक नतिजा हो। त्यतिमात्रै होइन, आफ्नो घरेलु मैदानमा हुनुपर्ने बहराइनविरुद्धको म्याच पनि अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीपूर्ण हर्कतका कारण नहुनु अर्को शर्मनाक घटना बन्यो । यद्यपि गतफागुनमा दशरथ रंगशालामा नेपाली युवा टोलीले चीनको प्रान्तीय टोली युशु युवा टोलीमाथि ५–१ को जितले केही हदसम्म सान्त्वना खुसी बाँड्यो ।

एकातिर घरेलु प्रतियोगिताको टुंंगो नलागेका कारण नाम चलेका खेलाडी विदेश पलायन हुने क्रम रोकिएन भने अर्कोतिर एन्फा फुटबलको विकासका लागि भावी योजनाको खाका तयार पार्नुमा भन्दा पद र स्वार्थका लागि महिनैपिच्छे करौडौं खर्चेर साधारणसभा गराउनतिर अग्रसर देखियो । खेलाडीको भविष्यभन्दा पदाधिकारीको स्वार्थपूर्तिका लागि हानथापमा सक्रियता देखाउनु अर्को दुर्भाग्य नेपाली फुटबलले आत्मसात गर्‍यो।

त्यतिमात्र होइन, बंगलादेशमा भएको साफ यू–१९ च्याम्पियनसिपका लागि रेफ्रीमा नियुक्त भएकीलाई विमानस्थलबाटै फर्काएर एन्फा पदाधिकारीले आफ्नो दम्भ छर्लङ पारे । एन्फा २०८० मा खेलाडी र नेपाली फुटबलको विकासमा भन्दा पदाधिकारी पोस्नमा व्यस्त रहँदा महिला फुटबल खेलाडीले गर्विलो प्रदर्शन गरे।

असारको अन्तिम साता बंगलादेशमा भएको मैत्रीपूर्ण फुटबल सिरिज जित्नु र पश्चिम एसियामा वाहवाही बटुल्नु सुखद पक्ष रह्यो । गतफागुनमा साउदी अरबको जेद्दाहमा सम्पन्न वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपाली महिला टोली उपविजेता बन्यो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५–३ ले विजयी भयो।

उपविजेतामा सीमित भएपनि प्रतियोगितामा नेपाली टोलीले सर्वाधिक १७ गोल गर्दै ४ गोलमात्र व्योहोर्याे । जसमा ९ गोल गरेकी नेपालकी सवित्रा भण्डारी प्रतियोगीताकै सर्वाधिक गोलकर्ता बनेर चर्चित बनिन् । त्यतिमात्रै होइन, सवित्राले इजरायली क्लब हुँदै फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा आबद्ध हुनु पाउनु नेपाली महिला फुटबल खेलाडीको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता पनि हो। दक्षिण एसियामा सर्वाधिक ५३ अन्तर्राष्ट्रिय गोल गरेर नयाँ कीर्तिमान बनाएकी सावित्राले फ्रान्सको शीर्ष डिभिजनमा पनि गोल गर्न सफल भइन् ।

घरेलु लिगको कुरा गर्दा यसपटक चर्च ब्वाइज् फुटबल क्लबले पहिलो सहभागितामा नै शहीद स्मारक लिगको उपाधि जित्यो । २५औं चरणको खेलमा थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज् एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भयो । चर्च ब्वाइज् डिभिजन ‘सी’, ‘बी’ र ‘ए’ हुँदै च्याम्पियन बन्ने मनाङ–मस्र्याङ्दीपछि दोस्रो क्लब बन्यो । त्यसैगरी, पुसमा सम्पन्न नेपाल सुपरलिगको दोस्रो संस्करणमा धनगढी फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुर च्याम्पियन बन्यो । एकातिर पुरुष फुटबलको लिग म्याच सफलतापूर्वक सम्पन्न हुँदा महिला फुटबल लिगको भने कुनै नामोनिसानसम्म भेटिएन ।

बरु राष्ट्रिय महिला फुटबल टोलीका ६ खेलाडी भारतीय महिला लिगका ३ फरक क्लबमा अनुबन्धित भए । मिडफिल्डरद्वय दीपा शाही र प्रिती राईले किकस्टार्ट एफसी, नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र रक्षक गीता राना सेथु एफसीमा र फरवार्ड रश्मीकुमारी घिसिङ र मिडफिल्डर अमृता जैसी स्पोर्ट्स ओडिसामा आबद्ध भएकी थिइन्।

नेपालमा वार्षिक क्यालेन्डरको टुंगो नलाग्दा अधिकांश खेलाडी अस्ट्रेलिया पलायन भइरहँदा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्ट र डिफेन्डर अनन्त तामाङ भने भारतीय लिग क्लबमा अनुबन्धित भएका थिए।

गत ङसाउनको चौथो साता भुटानको पारो एफसीलाई ३–२ ले हराएर नेपालको मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेपनि भारतको मोहन बगानसँग ३–१ ले पराजित भएपछि छनोटबाट बाहिरियो । त्यस्तै, गतभदौमा भारतमा भएको डुरान्ड कपमा नेपालको त्रिभुवन आर्मी क्लब समूह चरणबाटै बाहिरिएको थियो । असोजमा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेपनि दोस्रो चरणमा भने युएई, यमन र बहराइनसँग पराजित भएपछि अर्को चरणमा छनोट हुने सम्भावना समाप्त भयो ।

त्यसैगरी, नेपालको अर्को चर्चित खेल क्रिकेटलाई समग्रमा हेर्दा २०८० उपलब्धिपूर्ण मान्नुपर्ने हुन्छ। नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उत्कृष्ट प्रदर्शन पनि गर्‍यो। नेपालले वानडे इन्टरनेसनलमा भारत, वेस्ट इन्डिज, जिम्बाब्वेजस्ता टेस्ट राष्ट्रसँग खेल्नुका साथै केही बलिया एसोसिएट राष्ट्रलाई पराजित गर्‍यो।

नेपालका दुई टोली सिनियर र यू–१९ टोली पहिलोपटक एकैवर्ष विश्वकपमा छनोट भए । नेपाली यू–१९ टोलीले गतजनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा विश्वकप खेलेको थियो । त्यस्तै, २०२४ जुन ४ देखि ३० सम्म वेस्टइन्डिज् र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप खेल्नका लागि तयारी गरिरहेको छ। जसका लागि नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई राष्ट्रिय खेलकुद परिषदमार्फत् ५ करोड रुपैयाँ पनि निकासा गरिसकेको छ । त्यस्तै, क्यानले ग्रेड निर्धारण गरी क्रिकेट खेलाडीलाई मासिक तलबको व्यवस्था गर्नु अर्को सुखद पक्ष बन्यो।

२०८० मा नेपालले थुप्रै प्रतियोगिता जितेको छ। गतचैतको दोस्रो साता टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टी–२० सिरिज २–० ले जितेको थियो। गतफागुनमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो।

गतमाघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी छँदै क्यानाडाविरुद्ध ओडिआई सिरिजको उपाधि जितेको थियो। तर, माघमै भएको आइसिसी यू–१९ विश्वकपमा नेपाल अन्तिम खेलमा भारतसँग १ सय ३२ रनले पराजित भएर सुपरसिक्स चरणमा विनाअंक बाहिरिनु दुर्भाग्यपूर्ण परिणाम थियो।

गतपुसमा बलात्कार मुद्दामा दोषी ठहरिएका नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु र अन्तर्राष्ट्रिय दुवै खेल्न नपाउने गरी निलम्बन गर्‍यो । मंसिरमा नेपाल एसिसी यू–१९ एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाट बाहिरियो भने मंसिरमा नै नेपालले चार देश सम्मिलित महिला टि–२० आई सिरिजमा जापानलाई हराएर तेस्रो स्थान ओगट्यो ।

कातिकमा ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा घरेलु टोली नेपाललाई सुपरओभरमा हराउँदै उपाधि जितेको थियो । कातिकमा नै युएईलाई ८ विकेटले हराएर नेपाल १० वर्षपछि टी–२० विश्वकपमा पुग्न सफल भयो। कातिकमा नै नेपालले युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको थियो।

असोजको तेस्रो साता नेपाल १९औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पनि नेपालले समूह चरणमा भने मंगोलियालाई २ सय ७३ रनले हराएर एक दर्जनभन्दा बढी कीर्तिमान रच्यो ।

भदौमा एसिया कपमा भारतसँग १० विकेटको हार ओडिआईमा नेपालले विकेटको हिसाबमा व्योहोरेको सबैभन्दा ठूलो हार बन्यो। भदौमा नै नेपालले चारदेश सम्मिलित महिला टी–२० आई सिरिजको फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जितेको थियो।

साउनमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए भने साउनमा नै नेपाल एसिसी इमर्जिङ एसिया कपबाट बाहिरिएको थियो। असारमा नेपालले एसिसी यू–१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै लगातार तेस्रोपटक उपाधि जित्यो।

असारकै तेस्रो साता जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा सातौं स्थानका लागि आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो। गतवैशाखमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा छनोट भएको थियो।

प्रतिक्रिया दिनुहोस्