हिडेरै अस्पताल पुगेकी युवतीको मृत्यु भएपछि अस्पतालमा तनाव, आफन्तले शव बुझ्न मानेनन्



सुर्खेत ।

पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटबाट सामान्य उपचारका लागी सुर्खेत आएकी २२ वर्षीया भिमा(रिजुका) गुरुङ बलामीको मृत्यु भएको छ। केही समय देखी पेट दुखी रहने समस्या भएको भन्दै उपचार गराउन उनी सुर्खेत आएकी थिइन्।

वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको र प्रदेश अस्पताल जान सुझाव दिइएको पारिवारिक स्रोतले बताएको छ। बिहीबार बिहानै उनी अस्पताल भर्ना भइन्।

अस्पतालमा चेकजाँच गराउँदा ८ महिनाअघि प्रसूति गराउँदा बखत पाठेघरमा केही सालनाल रहेको र अहिले पनि भिमाको पेटमा केही महिनाको बच्चा रहेको हुँदा समस्या पेटमा समस्या भएको चिकित्सकहरूले जानकारी दिएका थिए।

भिमाका जेठाजु हर्क बहादुर बलामीले चिकित्सकको सल्लाह अनुसार भिमाको पाठेघर अप्रेसन गरेर सफा गर्नुपर्ने भएको बताए। उनले अप्रेसनकै क्रममा एक्कासि अस्पतालले भिमालाई मृत घोषणा गरिदिएको जानकारी दिए। ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उहाँले भन्नुभयो, ‘हिँडेर अस्पताल गएकी भाई बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन।’

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो। उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो। आफन्तहरूले डाक्टरहरुको लापरबाहीका कारण नै भिमाको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन्। ‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कस्का लागि र किन,’ जेठाजु हर्क बलामी भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैर जिम्मेवार डाक्टरहरूलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

भिमाको मृत्यु भएसँगै अस्पताल परिसर तनावग्रस्त छ भने अझै परिवारले शव बुझ्न मानिरहेका छैनन् । उचित क्षतिपुर्तीसहित छानबिनको माग आफन्तहरूले गरेका छन् ।

शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् । यस्ता प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए।

‘उनको रिपोर्ट हेर्दा अवस्था नाजुक नै देखिएको बुझिन्छ, अप्रेसन गर्दा भ्रूणलाई फाल्नुपर्ने हुँदा, त्यस क्रममा मृत्यु भएको जानकारी आएको छ,’उनले भने, ‘अझै टेक्निकल विषयमा के भएको हो आज हामी छलफल गर्दै छौँ।’ प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिएपछि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्