एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष  कटवालद्वारा पार्टी परित्याग 



ओखलढुंगा ।

 नेकपा एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन् । दशौं जिल्ला अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरुको हस्तक्षेप र दबाब सहन नसकेपछि जीवनकाे ३४ वर्ष लगानी गरेको एमालेको सदस्यता त्यागेको कट्वालले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

दुई वर्ष पहिले पार्टी अध्यक्ष निर्वाचित भएर कार्यकाल नसकिँदै नेतृत्व हस्तान्तरण गर्ने तयारीमा जुटेका शंकर  कट्वालले पार्टी भित्र बन्दै गरेको गुट र त्यहाँको अराजनीतिक व्यवहारबाट आजित भएको बताए । उनले जिल्ला इन्चार्ज खगेन्द्र राईलाई राजीनामा पत्र लेख्दै पार्टी त्यागेको जनाए ।

कटवालले निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै २७ गतेको पत्र सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘दशौं जिल्ला अधिवेशनमा जे जस्तो रवैया, भाँडभैलो र आरोपप्रत्यारोपको होड चल्यो, नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले ३४ बर्षे राजनीतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता देखिएको थिएन ।’

कट्वालले लेखेको पत्र बिहीबार सामाजिक सञ्जालमा राखेर पनि यो पत्र उनले २७ गते बेलुका नै जिल्ला इन्चार्ज खगेन्द्र राईलाई बुझाएका थिए । एमाले जिल्ला अधिवेशन नयाँ नेतृत्व चयनसँगै २८ गते सम्पन्न भएको थियो । ३४ वर्ष एमालेको राजनीति गरेर दुई वर्ष पहिले जिल्ला अध्यक्ष भएका कट्वालले बन्द सत्र सुरु भएपछि पार्टी त्याग गरेको पत्र लेख्नु सामान्य घटना होइन ।

उद्घाटन समारोहपछि अध्यक्ष कट्वाल बन्दसत्र र निर्वाचन प्रक्रियामा समेत सहभागी भएनन् । दशौं जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया सुरु हुने समयमा आएर उनले पार्टी नै त्याग गर्नु एमालेका लागि ठूलो दुर्घटना भएको नेताहरुले बताएका छन् । यसले पुर्‍याउने दीर्घकालीन क्षति आंकलन गर्न नसकिने भन्दै एमाले नेता कार्यकर्ताहरु निराश भएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्