कोभिडबाट रोकिएको फाल्डो जुनियर शुरु



काठमाडौं ।

कोभिडबाट रोकिएको फाल्डो जुनियर टूर नेपाल च्याम्पियनसिप यस सिजनमा शुरु भएको छ।

यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुदै आएको थियो। तर अघिल्ला सिजनमा कोभिडपछि रोकिएको थियो। हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौता गरेसँगैं यो प्रतियोगिता पुनः सुचारू भएको हो ।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र महिलातर्फ ४ गरी कूल ३१ खेलाडीको सहभागिता रहेको छ । तीन विधाका विजेता खेलाडीले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन्।

प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन् ।

पहिलो दिन बुधबारको खेल समाप्तिसम्म राष्ट्रिय टोलीका खेलाडी सदभाव आचार्य, ईदान्तसिंह साउद र अवानी राई आ–आफ्नो उमेर समुहमा शीर्षस्थानमा रहेका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताअन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा सदभाव ५–अन्डर ६३ को उत्कृष्ट स्कोरसहित शीर्षमा रहे।

उनले संसार विकेमाथि १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन् । सदभावले फ्रन्ट नाइन २ अन्डर ३२ मा सकाए भने ब्याक नाइन ३–अन्डर ३१ मा पुरा गरे ।

पुरूषकै १२ देखि १६ वर्ष उमेर समुहमा ईदान्त १६ ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्षमा रहेका हुन् । उनले फ्रन्ट नाइन ७ ओभर ४१ र ब्याक नाइन ९ ओभर ४३ मा पुरा गरे। १८ ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्