सशस्त्र प्रहरी गोदाम आगलागी प्रकरण : ६० करोडभन्दा बढी क्षति भएको अनुमान



काठमाडौं ।

सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय गोदाममा भएको आगलागीमा ६० करोड रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

आगलागीका कारण सशस्त्र प्रहरी बलका जवानदेखि अधिकृतसम्मले प्रयोग गर्ने युनिर्फमदेखि हतियारमा प्रयोग गर्ने राइफलको तेलसम्म आगोले नष्ट भएको छ।

देशभरका सशस्त्र प्रहरीका अधिकृतदेखि जवानसम्मले प्रयोग गर्ने युनिर्फम, जुत्ता, मोजा, पेटीदेखि अन्य सामान जलेर नष्ट भएका कारण यस वर्ष कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले नयाँ युनिर्फम पाउने सम्भावना नरहेको सशस्त्र प्रहरी बल स्रोतले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले नेपाल समाचारपत्रसँगको कुराकानीमा उक्त गोदाममा सामान कति थियो भन्ने यकिन तथ्याङ्क अझै प्राप्त भइनसकेको बताउनुभयो । यद्यपि, सशस्त्र प्रहरी बल मुख्यालयले भने ६० करोड रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ ।

सरकारले उक्त आगलागीबाट भएको क्षति र त्यसले सशस्त्र प्रहरी बललाई पारेको असरको बारेमा समयमा नै निर्णय नगरे अधिर्काश सशस्त्र प्रहरी कर्मचारीले नयाँ युनिफर्म नपाउने निश्चित छ। सशस्त्र प्रहरी बलले गठन गरेको छानबिन समिति र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले समयमा नै प्रतिवेदन बुझाएर सो संगठनलाई चाहिने सामान समयमा नै खरिद नगर्ने हो भने काम कारबाहीमा प्रत्यक्ष असर पर्ने भन्दै प्रवक्ता खड्काले यस विषयमा सरकारले चाँडै निर्णय लिने अपेक्षा गरेको जानकारी दिनुभयो।

उक्त घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले काम शुरू गरेको छ। सोमबार भएको आगलागीको घटना छानबिन गर्न गृहमन्त्रालयले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

छानबिन समितिमा सशस्त्रका प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ सदस्य हुनुहुन्छ।

छानबिन समितिलाई आगलागीको कारण खोज्ने, क्षतिको विवरण संकलन गर्ने तथा जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

आगलागीको घटनापछि सशस्त्र प्रहरी वलको मुख्यालयले पनि एआईजी बंशीराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

छानबिन समितिले लियो बयान

सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न भण्डारण शाखाका ७ जना कर्मचारीलाई झिकाएर सोधपुछ गरेको छ। छानबिन समितिका संयोजक एआईजी बंशी दाहालको प्रत्यक्ष उपस्थितिमा बयान लिन शुरू गरेको बताइएको छ।

पशुपतिनाथ बाहिनीबाट उक्त गोदामको सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा खटिएका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मुख्य द्वारमा खटिएका २ जनालाई समेत सोधपुछका लागि सशस्त्र मुख्यालय बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्