एमाले सिन्धुलीको ८ औँ जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदै



सिन्धुली ।

 नेकपा एमाले सिन्धुलीको ८ औँ जिल्ला अधिवेशन बुधवार (भोलि ) देखि सुरु हुँदै छ । एमाले सिन्धुलीको प्रचार तथा प्रकाशन विभागले आज पत्रकार सम्मेलनको आयोजना गरेर चैत २८ र २९ गते पार्टीको जिल्ला अधिवेशन हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले सिन्धुलीका इन्चार्ज खेम लोहनीले अधिवेशनको उद्घाटन महासचिव शंकर पोखरेलबाट गर्ने तयारी भएको जानकारी दिए ।
अधिवेशनबाट जम्मा १०५ जनाको नयाँ जिल्ला कमिटी बन्नेछ । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित एक सय जना निर्वाचित हुने र ५ जनालाई जिल्ला कमिटीको बैठकले मनोनीत गर्ने जिल्ला इन्चार्ज लोहनीले बताए ।

अधिवेशनका लागि जिल्लाका नौ स्थानीय तहबाट ५१४, जनवर्गिय संगठनबाट ६७ जना, जिल्ला कमिटी सदस्य १३० जना, सल्लाहकार २५ जना, मनोनीत ३९ जना गरी ७८४ जना प्रतिनिधि छनोट भएर आएका एमाले सिन्धुलीले जनाएको छ ।

एमाले सिन्धुलीको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि पाँच जनाले आकांक्षा देखाएका छन् ।
हाल जिल्ला अध्यक्ष रहेका  कुमार बहादुर कार्की (रामकुमार) सहित वर्तमान सचिव नारायण बराल, एमाले बागमती प्रदेश कमिटी सदस्यहरु खड्ग बहादुर खत्री, डम्बर कार्की र कमलामाई नगर कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अध्यक्ष बन्ने आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्