शैक्षिक सत्र शुरू नहुँदै १ अर्बको १ करोड थान पाठ्यपुस्तक बिक्री

भोलिसम्म सबै जिल्लामा पाठ्यपुस्तक पुग्ने

1.32k
Shares

काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र शुरू हुनुअगावै करिब १ अर्ब रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ। १० वर्षको अवधिमा आगामी शैक्षिकसत्र शुरू हुनु पाँच दिनअघि ठूलो परिमाणमा पाठ्यपुस्तक बिक्री भएको हो।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले करिब १ करोड थान पाठ्यपुस्तक बिक्री भइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सायद शैक्षिक सत्रअगावै १ अर्ब रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री हुनु ठूलो उपलब्धि हो।’

उहाँले अनुसार चैत मसान्तसम्म सबै पाठ्यपुसतक बिक्री हुने सम्भावना रहेको बताउनुभयो। जनक शिक्षाले आगामी शैक्षिक सत्रका लागि १ करोड ७४ लाख थान पाठ्यपुस्तक छापेको छ। अब करिब ५० लाख थान मात्र बिक्री हुने सम्भावना रहेको छ।

जनक शिक्षाका अनुसार चालु शैक्षिक सत्र २०८० मा १ करोड ३३ लाख थानमात्र बिक्री भएको थियो। आगामी शैक्षिक सत्रका लागि दैनिक करिब १० देखि १५ लाख थानसम्मको पाठ्यपुस्तक बिक्री भइरहेको छ। जनक शिक्षाका प्रबन्ध सञ्चालक झाका अनुसार अब १० प्रतिशत मात्र पाठ्यपुस्तक बिक्री हुन बाँकी रहेको छ। चैत मसान्तसम्म सबै पाठ्यपुस्तक बिक्री भइसक्ने उहाँको दाबी थियो।

जनक शिक्षाले हिमाली जिल्लामा चैत ९ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको थियो। त्यसपछि पहाडी र बाँकी सबै जिल्लाबाट बिक्री शुरू गरेको थियो । जनक शिक्षाले ७ प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रबाट गतेबाट बिक्री शुरू गरेको थियो।

यसअघि शिक्षा मन्त्रालयले चैत १५ बाट पाठ्यपुस्तक बिक्री खुला गर्ने जनाएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले हिमाली र कर्णाली जिल्लामा तत्काल पुस्तक पुर्‍याउन निर्देशन दिएपछि ९ गतेबाट बिक्री शुरू गरेको थियो। जनक शिक्षाले कार्यतालिकासहित भोलि बुधबार सम्म ७७ वटै जिल्लाबाट पाठ्यपुस्तक बिक्री हुने जनाएको छ।

जनक शिक्षाले हिजोबाट निरन्तर बिक्री गरी वैशाख १ गतेभित्र देशैभर पुर्‍याउने योजना बनाएको छ । तथ्याङ्कअनुसार कक्षा १–१० अध्ययनरत करिब ५० लाख विद्यार्थीका लागि पाठ्यपुस्तक बिक्री हुनेछ। ती विद्यार्थीका लागि झन्डै १ करोड ७४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ। जनक शिक्षाले नेपालगञ्ज, धनगढी, पोखरा, भरतपुर, सुर्खेत, विराटनगर, जनकपुर, बुटबल र सानोठिमीस्थित मुख्यालयको बिक्री केन्द्रबाट पाठ्यपुस्तक बिक्री गर्न लागेको हो।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले आगामी शैक्षिकसत्रका लागि चैत मसान्तत्रिभ सबै विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगिसक्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘वैशाख २ गतेबाट भर्ना अभियान शुरु हुन्छ, त्यही दिनबाट सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेछ।’

उहाँका अनुसार केन्द्रले दैनिकजसो अनुगमन जारी राखेको छ, जनक शिक्षाले दैनिक बुझाएको तथ्याङ्कअनुसार पाठ्यपुस्तक पुर्‍याइरहेको छ।
पाठ्यक्रम विकास केन्द्रले समयमै पीआरसी (प्रिन्ट रेडी कपी) उपलब्ध गराएका कारण छपाइमा कुनै समस्या नभएको जनक शिक्षाको भनाइ छ। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले समयमै पाठ्यपुस्तक पुग्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘असोजबाटै पीआरसी कपी पुर्‍याएको कारण समयमै पाठ्यपुस्तक पुग्ने देखिन्छ।’ उहाँका अनुसार पुस्तक पुगे नपुगेको विषयमा आन्तरिक रूपमा अनुगमन गरिनेछ।

Skip This