सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा आगलागी, करोडौंको क्षति

एआईजीको नेतृत्वमा छानबिन समिति



काठमाडौं ।

सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामको साइट गोदाममा सोमबार भीषण आगलागी हुँदा करोडौंको सामान जलेर नष्ट भएको छ। सोमबार अपराह्नबाट लागेको आगो नियन्त्रण गर्न काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको ८ वटा दमकललाई घण्टौं लागेको थियो।

सशस्त्र प्रहरी बलले केन्द्रीय गोदाम हल्चोकमा राख्न नअटाएको सामान बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको परिसरमा साइट गोदाम बनाएर सशस्त्र प्रहरी बलका अधिकृतदेखि जवानसम्मका लागि चाहिने पोसाक, विपद् व्यवस्थापनका सामान, भीड नियन्त्रणका लागि प्रयोग गरिने सामानलगायतका विभिन्न सामान उक्त गोदाममा राखेको थियो।

हतियार, गोलीगठ्ठा र विस्फोटक सामग्रीबाहेक सशस्त्र प्रहरी बलले प्रयोग गर्ने अधिकांश सामान उक्त गोदाममा राखिएको थियो । गोदाममको बीचभागबाट आगलागी शुरू भएपछि सो क्षेत्रका केही बेर कोलाहल मच्चिएको थियो। वायर हाउससँगै अस्पताल रहेकाले अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका आफन्तहरूसमेत आत्तिएका थिए।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान तथा छानबिन गर्न कार्य विभागका एआईजी वंशी दाहालको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो।

आगलागीको खबर पाउनासाथ सो संगठनका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आफैं घटनास्थल पुग्नुभएको थियो। उहाँले आगो नियन्त्रणका लागि विभिन्न निकायसँग समन्वय गर्दा पनि आगो नियन्त्रण गर्न ४ घण्टाभन्दा बढी समय लागेको बताउनुभयो।

गोदामघरभित्र रहेका सामान कति जलेका छन् भन्ने जानकारी आइनसकेकाले क्षतिको विवरण भने अहिले नै यकिन गर्न नसकिने प्रवक्ता खड्काले जानकारी गराउनुभयो। सामानको विवरणको लिस्ट सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रहेकाले गोदाममा के कति सामान थियो भनेर एकिन गरिने पनि उहाँले दाबी गर्नुभयो।

आगलागी भएसँगै सो संगठनलाई तत्काल चाहिने सामग्रीहरूको अभाव हुने भएको छ। वर्षायाम शुरू भएसँगै विपत्जन्य जोखिम बढ्ने भएकाले त्यसका लागि चाहिने विपद्का अधिकांश सामान सोही स्टोरमा रहेको बताइएको छ।

सो आगलागी नियन्त्रण गर्न १ हजारभन्दा बढी सुरक्षाफौज परिचालन गरेको पनि प्रवक्ता खड्काले जानकारी दिनुभयो। राति अबेरसम्म क्षतिको विवरण संकलन गर्न सशस्त्र प्रहरी बलका अधिकारीहरू खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्