रास्वपालाई प्रदीप पौडेलको प्रश्न- निर्दोष भए छानबिन समिति बनाउन किन नमानेको?



काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट कांग्रेस पछि नहटेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे। उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नभएको भन्दै प्रश्न समेत गरे।

पौडेलले भने, ‘दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो? कुनै पनि घटना विशेषको सत्य तथ्य खोजिनुपर्छ। प्रश्न उठ्दैमा र आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने हुँदैन। तर आरोप लागिसकेपछि सत्य तथ्य छानबिन गर्ने काम सरकारको हो।’

सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अङ्गीकार गर्नुपर्ने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको उल्लेख गरे।

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरू बन्ने गरेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्