स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौँ। 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन भुक्तान व्यवस्थालाई सरल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुझाव दिएका छन्  ।
आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतले स्वास्थ्य बीमा कार्यक्रम अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन जोड दिए । उनले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, गुणस्तर कायम गर्ने, वित्तीय सुशासन कायम गरेर अघि बढ्न बीमा बोर्डलाई निर्देशन दिए ।

‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौती लक्षित सुधारका योजनाहरू हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिँदै भने ‘स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बिमा मार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी सरकार सधैँ प्रतिबद्ध छ ।’

स्वास्थ्य बीमा कार्यक्रमलाई उत्कृष्ट बनाउन राज्य र सेवा प्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्ने बिषयमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउने लगायतका विषयमा ध्यान दिन निर्देशन दिए ।

नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं सघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसहरूमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमको मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

बीमाको बार्षिकोत्सवमा आजैबाट बुढानिलकण्ठ नगरपालिकामा पनि बीमा कार्यक्रम लागु भएको घोषणा गर्दै प्रधानमन्त्रीले कार्ड हस्तान्तरण गरे । बीमा बोर्डमा सरकार परिवर्तन नै पिच्छे पदाधिकारी परिवर्तन गर्ने र पदाधिकारीले कानूनी सहायत लिई पुर्नवहाली हुनुपर्ने अवस्थाले काममा ढिलाई हुँदै गएको कुरा बोर्डले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्