गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण: टेन्डरमा १० करोडको चलखेल भएको आरोप



काठमाडौं ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्दागर्दै बीचमा नै अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिन नपाउँदै भ्रष्टाचारको गन्ध आउन थालेको छ।

झण्डै ३ अर्ब रुपियाँको लगानीमा निर्माण गर्न कस्सिएका हास्य कलाकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरेले भनेजति रकम संकलन गर्न नसकेपछि रंगशाला निर्माणको काम अलपत्र पारेर छाडेपछि चितवनको भरतपुर महानगरपालिकाले यसलाई महानगरको गौरवको आयोजना घोषणा गरी काम अघि बढाउने तयारी गरेको थियो।

महानगरपालिकाले उक्त रंगशाला निर्माणका लागि १ अर्ब २२ करोड रुपियाँको टेन्डर आह्वान गरे पनि आफ्ना मान्छेलाई उक्त टेन्डर पार्नका लागि अवान्छित गतिविधि गरेको भन्दै निर्माण व्यवसायीहरूले महानगरको तीव्र आलोचना गरेका छन्।

निर्माण व्यवसायी संघ चितवनले रंगशाला निर्माणको कामलाई मागिएको आवश्यक मापदण्डमा मुन्ना एन्ड आचार्यले मात्र बिडिङ गर्न पाउने गरी बोलपत्र निकालिएको भन्दै उक्त टेन्डर रद्द गर्न माग गरेको छ।

टेन्डरका लागि बोलपत्र आह्वान गर्दा एउटा मापदण्ड राखेकोमा टेन्डर खोल्नुभन्दा ९ दिनअघि मापदण्डमा परिवर्तन गरेर मुन्ना एन्ड आचार्यले मात्रै ‘बिड’ गर्न पाउने गरी मापदण्ड परिवर्तन गरिएको पाइएको छ।

भरतपुर महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यको मिलेमतोमा एउटा मात्रै कम्पनी पर्ने गरी मापदण्ड परिर्वतन गरेको आरोप ठेकेदारहरूले लगाएका छन्।

निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशवप्रसाद लामिछानेले मुलुकलाई नै आर्थिक हानि हुने किसिमले टेन्डरको प्रक्रिया मिलाइएको आरोप लगाउँदै उक्त टेन्डर रद्द हुनुपर्ने माग गर्नुभएको छ।

नेपालमा खेलकुद क्षेत्रमा काम गर्ने ठेकेदारको अनुभव कम भएको मौकाको फाइदा छोपी डिभिजन इन्जिनियर आचार्यले व्यक्तिगत रूपमा आफूलाई फाइदा हुने भएपछि मापदण्ड परिर्वतन गरेको आरोप ठेकेदारहरूले लगाएका छन्।

उक्त टेन्डरमा १० करोड रुपियाँको चलखेल भएको भन्दै टेन्डरको प्रक्रिया नै रोकेर मापदण्डमा राखिएको प्रक्रियालाई खुकुलो बनाई थप ७ दिन म्याद थप गर्न संघले माग गरेको थियो।

गत बुधबार बिहान १० बजे संघले महानगरपालिकालाई उक्त बोलपत्र रोक्न माग गर्दै पत्र बुझाएको भए पनि महानगरपालिकाका कर्मचारीले सोही दिन दिउँसो १२ बजे बोलपत्र खोलेर उक्त टेन्डर मुन्ना एन्ड आचार्यलाई पार्ने काम भएको पाइएको छ । अहिले भरतपुर महानगरपालिकाले कार्यालयमा दर्ता भएको संघको निवेदन फिर्ताका लागि पटक पटक ताकेता गर्नुले पनि यसमा ठूलो बद्मासी रहेको एक ठेकेदारले नेपाल समाचारपत्रलाई बताए।

उक्त रंगशाला आरसीसी फ्रेम स्ट्रक्चरमा निर्माण हुने भए पनि महानगरपालिकाले भने स्टिल स्ट्रक्चरमा काम गरेका ठेकेदारलाई मात्र छनौट गर्ने प्रक्रिया बनाएर बद्मासी गरेको आरोप ठेकेदारहरूले लगाएका छन्।

मुन्ना एन्ड आचार्य बिल्डर्सले महानगरपालिकामा ‘सेटिङ’ मिलाएर एकल रूपमा छनौट भएको भन्दै ठेकेदारहरूले महानगपालिकाले निर्णय नसच्याए न्यायका लागि अदालत जाने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्