उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता



काठमाडौं ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन्।

आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने छ। यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ। निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।इलाम–२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो।

आयोगले उपनिर्वाचन हुने दुवै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोक्नुका साथै मतदान स्थल समेत तोकिसकेको छ।

प्रतिक्रिया दिनुहोस्