कन्सुलर विभागले सुरु गर्‍यो  नयाँ मोड्युल

विदेशमा रहेका नेपालीहरूका लागि गुनासो र समस्या दर्ता गराउन सहज 



काठमाडौं

विदेशमा रहेका नेपालीहरूले अबदेखि आफ्नो गुनासो तथा समस्या व्यक्त गर्न र त्यसको समाधानका सम्बन्धमा भएको सम्बोधनबारे अनलाइनबाटै जानकारी लिन सक्ने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले बिहीबार विदेशमा रहेका नेपालीहरूले आफ्नो गुनासो तथा समस्या सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल अर्थात् अनलाइन प्रणाली सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित विभागको भवनमा आयोजित एक कार्यक्रममा उक्त नयाँ मोड्युलको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधको प्रयोग गरेर घरमै कन्सुलर सेवा छिटो, छरितो र त्रुटिरहित रुपमा प्रदान गर्न यो सेवा सुरु गरिएको बताए । उनले भने – ‘यो सेवा सुरु भएपछि विदेशमा बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न सक्छन् । साथै सो समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्नेछन् ।’

उनले आगामी एक साताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरू घाइते र मृत्यु भएको अवस्थामा उनीहरूको क्षतिपूर्ति सहितको माग दाबीका लागि दूतावासमै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गरिने जानकारी पनि दिए । यसअघि नै कन्सुलर विभागले नेपाल प्रहरीका चारित्रिक प्रमाणपत्रको लागि गाउँपालिका, नगरपालिकाहरूबाट नै अनलाइन फारम भर्ने व्यवस्था गरिसकेको छ ।

कार्यक्रममा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले विदेशमा रहेका दूतावासमा सीमित कर्मचारीबाट धेरै सेवाग्राहीका काम गर्न यो प्रविधिको सुरुआत गरिएको जानकारी दिँदै भने – ‘यो मोड्युलमा कुनै पनि सेवाग्राहीले आफ्नो राहदानी नम्बर र जन्ममिति प्रविष्ट गरेपछि नयाँ फोल्डर निर्माण हुन्छ । उक्त फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको छ ।’

कार्यक्रममा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विभागले प्रमाणीकरणलाई ३ लाख ७२ हजार ४ सय २९ सेवाग्राहीलाई सेवा प्रदान गरिसकेको र तीमध्ये ३ लाख ३ हजार ७ सय ५१ ले अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिएको बताइयो । साथै प्रमाणीकरणबाट २१ करोड ६१ लाख ७७ हजार ५ सय ३९ रुपियाँ राजश्व उठेको पनि जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्