एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन वैशाख अन्तिममा हुने


रामेछाप ।

नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन आगामी वैशाखको २६, २७ र २८ गते हुने भएको छ । पार्टीको बिहीबार मन्थलीमा सम्पन्न दशौँ पूर्ण बैठकले सो निर्णय गरेको हो । वैशाख २६ गते मन्थलीको तीनलाल पार्कमा पार्टी अध्यक्ष केपी ओलीलेले अधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

वैशाख १५ गते सबै वडा र आठवटै पालिकामा प्रतिनिधि छनोट हुने उनले जानकारी दिए । त्यस्तै वैशाख १७ गते जनवर्गीय संगठन, कार्यालय, विभाग र सल्लाहकार समितिबाट प्रतिनिधि छनोट हुने भएका छन् । वैशाख २० गते भित्र सबै प्रतिनिधिको नामावली जिल्लामा आइसक्नु पर्ने निर्णय भएको छ ।

बैठकमा पार्टी जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले चैत मसान्तसम्म रामेछाप जिल्लामा ९ हजार ३३ जना पार्टी सदस्य रहेका जानकारी दिए । स्थानान्तरण भएर आउने केही सदस्यको अभिलेख तयार गर्ने बाँकी रहेको उनले बताए । ६४ वडालाई आधार मानेर हरेक वडाबाट एक महिला सहित कम्तीमा तीन जना प्रतिनिधि अनिवार्य रहेको उनले बताए । त्यस बाहेक संगठित सदस्यको आधारमा थप २५ सदस्य बराबर एक जना र शेषमा ५० प्रतिशत बढीमा एक जना प्रतिनिधि निर्वाचित भएर आउने उनले जानकारी दिए ।

अधिवेशनका लागि करिब ३ सय ३० प्रतिनिधि भूगोलबाट निर्वाचित भएर आउने उनले बताए । उत्पीडित मुक्ति समाजलाई पालिकालाई निर्वाचन क्षेत्र मानी कम्तीमा २० सदस्य बराबर एक जना गर्दा आठवटा पालिकाबाट ४० जना प्रतिनिधि आउने उनले जानकारी दिए ।

अनुसूची एक अन्तर्गतका जनसंगठनबाट तीन जना, अनुसूची दुई अन्तर्गतका जनसंगठनबाट दुई जनाका दरले प्रतिनिधि छानिने उनले बताए । त्यस्तै विभाग, कार्यालय र सल्लाहकारबाट पनि प्रतिनिधि छनोट हुने उनले जानकारी दिए । पाँच प्रतिशत प्रतिनिधि भने मनोनीत गरिने भएको छ । अधिवेशनको लागि विभिन्न समिति बनाइ जिम्मेवारी दिइएको छ ।

नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश कमिटी सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।