के थियो, के भयो र के हुनेछ ?

1.41k
Shares

काठमाडौं ।

हाम्रो गाउँमा वनजंगल थिएन । नजिक पुँडो पनि थिएन। जंगल भेट्न गाउँबाट टाढा जानुपर्थ्यो। गएपछि विशाल सालवन भेटिन्थ्यो। हिँडेर नसकिने जस्तो त्यस जंगलमा एउटै पनि बाँदर भेटिन्थेन। बाँदर भेट्न मन लागे गाउँमै फर्कनुपर्थ्यो। हाम्रा गाउँका आम मानिसका घरकुँडारमा फलफूलका रुख प्रायः हुन्थेनन्।

हुनेखाने मानिसका घरकुँडारमा आँप, अम्बाका दुई–चार रुख हुन्थे । भब्बु, ज्यामिर, तित्री, रुखकटहर, कन्तर र मेवाका रुख पनि हुन्थे । पँधेरा भेगमा भने विशाल–विशाल नाम्ले फेदका अग्ला र झिरिझ्याम्म आँपका रुखहरु दश–एघारवटै थिए । यी सबै बिजुवा थिए । कलमी एउटै थिएन । यसैले यी रुखहरु विशालकाय थिए।

यी रुखमध्ये कुनैमा सिँदुरे कुनैमा सुपारे कुनैमा चुच्चे सुपारे कुनैमा लोहोरे र कुनैमा कालीलगायत विभिन्न नामका साना र मझ्यौला आकारका अति स्वादिला आँप फल्थे । ती रुखमा चढेर आँप टिप्न कसैले आँट गर्दैनथ्यो । त्यति बेला त्यहाँ बाँदरको आवश्यकता महसुस गरिन्थ्यो । एकाध ढेडु बाँदर त्यहाँ आइपुग्थे । आँप खान्थे । तिनीहरु एक हाँगाबाट अर्कोमा उफ्रँदा पाकेका आँप भररर तल झर्थे ।

यदाकदा तलबाट ढुङ्गा, मट्याङ्ग्राले हानेर बाँदरलाई एक हाँगाबाट अर्को हाँगामा हाम फाल्न बाध्य पनि पारिथ्यो । मनग्गे आँप झार्नका निमित्त बाँदरले एक किसिमको सेवकको काम गथ्र्यो । गाउँका केटाकेटीहरु, किशोरकिशोरीहरु रुखमुनि झुम्मिन्थे र बाँदरले झारेका त्यही आँप चुसेर तृप्त हुन्थे । असार–साउनका खेतीका चटारोबाट फुर्सद लिन मिल्दा केही युवा, प्रौढ र आँटपाँट हराई नसकेका केही वृद्धवृद्धाहरु पनि लौरो टेक्दै–खोक्दै पँधेरातिर आँप चुस्न झर्थे । पँधेरामा पानी भर्न आएका वरिपरि गाउँका कति महिलाहरु यी आँप टिपेर गाग्रीसँगै डोकामा राख्थे र घर लान्थे । कतिले बेलुका परिवार जुटेर त्यो आँप खान्थे त कतिले माडा बनाएर सुकाउँथे । पँधेराका यी आँपका विशाल वृक्षहरु गाउँलेले आफ्ना पुर्खाबाट पाएको सार्वजनिक पुरस्कार बगैँचाजस्तै थियो ।

गाउँलेका बारीमा भएका रुख सबैजसो डालेघाँसका थिए। जस्तै– टाँकी, कुट्मिरो, खस्रेटो, स्यालपुस्र्रे, काभ्रो, कोइरालो, खनायो आदि। खनायो जरा भेगमा लटरम्म फल्थ्यो। पाकेको खनायो गुलियो मीठो हुन्थ्यो । बोक्रा, बियाँ केही फाल्न नपर्ने, मिठाई खाएजसरी क्वाप्प खान मिल्ने । मानिसहरु अझ विशेषतः बालबालिकाहरु खनायो भनेपछि हुरुक्क हुन्थे । टिप्ने फुर्सद पाए पाकाहरु पनि दङ्ग पर्दै खान्थे । खनायोको स्याउला डालेघाँसमै पर्थ्यो । दाउराका लागि बारीमा कटुस, बढ्धँगेरा, बकाइना र क्यामुनाका रुख हुन्थे । एकाध चिलाउनेका रुखहरु पनि हुन्थे।

तिनको सङ्ख्या नगण्य थियो । गाउँहरुका गाला, कन्पारा र कोखा भेगमा छाँगाछुरका अनेकौँ भीर–पहरा थिए । सेतो पहरो, रातो पहरो, घोप्टे पहरो, चिप्ले पहरो आदि । सेता पहरोका टाउकामा विशाल बाघको टाउकाकै आकारको अलि बाहिर निस्केको ढिस्के पहरो थियो । त्यसमा मानिस जान, पस्न सकिने एउटा ओढार पनि थियो । त्यहाँ सरस्वतीस्थान थियो। यदाकदा गाउँलेहरु पूजा गर्न पनि जान्थे । ती पहराहरुमा राता बाँदर प्रशस्त थिए। यी बाँदर रैथाने थिए। पहराका मूलवासी। यिनीहरुमा मूलवासी हुनुको घमण्ड भने कत्ति पनि थिएन । त्यस पहरोमा कहिलेकाहीँ चितुवा पनि पस्छ, बस्छ भनिन्थ्यो।

राणाशासनका बेला त्यसै पहरोको टाउकामाथि गएर कटुवाल कराउँथ्यो । यसै आधारमा कतिले त त्यसलाई पछिसम्म कट्वाल ढिस्को पनि भन्थे । ती ढिस्का, पहरामा पनि रुख भन्न सकिने रुख थिएनन् । थिए त केही धएँराका बोटहरु । ती बोट वसन्त ऋतुमा राताम्मे फुल्थे । बाँदरले फूलको गुलियो रस चुस्थ्यो । पाए मानिसले पनि चुस्थे । पहरामा अरु झालझाडी पनि थिएनन् । पहरामा जता हे¥यो झुसे बाबियो देखिन्थ्यो । नसुक्दासम्म बाबियो हरियो देखिन्थ्यो र सुकेपछि खैरो देखिन्थ्यो । पहरामा कोही घाँस काट्न, बाबियो काट्न जान सक्थेनन् । चिप्लने डर हुन्थ्यो । सुकेको बाबियोमा डढेलो लाउन भने सक्थे । बाँदरलाई गाह्रो पर्ला भनेर गाउँले कसैले यी पहरामा कहिल्यै डढेलो लगाएको इतिहास थिएन । पहराहरुमा बाँदरहरु निर्धक्क खेलिरहेका देखिन्थे ।

यी बाँदर भूमिभक्त थिए । यिनीहरु न आपूm बसाइ सरेर परदेश कतै जान्थे, न परदेशी बाँदर बोलाएर आफ्नो भूमिमा बसोबास गर्न दिन्थे । यिनीहरुमध्ये रामचन्द्र कोही थिएन । शेरसिङ, प्रचण्डमान् र खड्गबहादुर पनि कोही थिएन । बिचरा बानरहरु सबैजसो अनाम थिए । तिनीहरुको व्यक्तिवाचक नाम बनेकै थिएन । कुनै मोटोघाटो जब्बर बाँदर देखिँदा गाउँलेहरु त्यसलाई ढेडु भन्थे ।

पहराहरुमुनि विभिन्न नाम र आकारका खोल्चा र बारीहरु थिए । ती बारीमा तोरी, मकै, कोदो, दाल, बोडी, भटमास, मस्याङ, जुनेलो, काँक्रा, फर्सी आदि अनेकौँ बाली लगाइन्थे । तिल, फापर र घैया पनि लगाइन्थ्यो । झुसे आलस लगाइन्थ्यो । हम्मेसी बाँदर नपुग्ने बारीमा टन्नै उखु लगाइन्थ्यो । बाँदरले उखु मन पराउँथ्यो । मकै धेरै नै मन पराउँथ्यो । मकैका घोगा लाग्न थालेपछि गाउँलेहरु आ–आफ्ना कुकुर लिएर बारीको रखवारी गर्न निस्कन्थे । कतिले पहरैमुनि एकाध सुर्का बाली बाँदरका लागि भनेर छाडिदिएका हुन्थे । कति त हनुमान् स्तोत्र पाठ गरेर बाँदरमा सद्बुद्धिको आशा गर्नेहरु पनि थिए । बाली जोगाउन बेलाबेला सावधान रहनुपरे पनि बाँदरहरुसँग गाउँलेहरुको खास शत्रुता थिएन ।

पहराहरुमाथि पनि ठूला–ठूला गाउँहरु थिए । तिनका खेतबारी पनि थिए । बीच पहराका बासिन्दा यी बानर चारैतिर गाउँका साझा छिमेकी थिए । बानरहरु पहरामा हुनुको पनि सौन्दर्य थियो । कति चाडपर्वमा खाद्यवस्तुहरु छिमेकी बाँदरको पनि भाग लाग्थ्यो । बाँदर हिउँदमा यदाकदा गाउँघरमा पनि आउँथे । कुन्योका एकाध घोगा मकै थुतेर लान्थे । यत्तिले बाँदरको जीविका चल्थ्यो, गाउँले किसानलाई खास हानि नोक्सानीको अनुभूति हुन्थेन । मानिसहरु प्रकृतिप्रेमी थिए । जीवजन्तुप्रति संवेदनशील थिए । पहरातिर कदाचित् चितुवा देखा पर्दा बाँदरहरु समवेत् स्वरमा कराउँथे । आवाज सुनेपछि ल चितुवा आएछ भन्ने गाउँलेहरुलाई थाहा हुन्थ्यो । बाच्छा, पाडा र कुकुर बाहिर छन् भने घरभित्र सार्थे । सावधान रहन्थे । खास नोक्सान हुन पाउँदैनथ्यो ।

चारैतिर ठूला–ठूला गाउँका बीचका भीरपहराहरु एक किसिमले बाँदरका दरबार थिए । बाँदर आफ्ना दरबारमा बस्थे । मानिसहरु आ–आफ्ना घरमा बस्थे । हरेक घरमा बालबालिकाहरु, युवायुवतीहरु, प्रौढप्र्रौढाहरु, वृद्धवृद्धाहरु हुन्थे । घर भने पनि परिवार नै हुन्थ्यो । परिवार मिलेर खेती गर्थे । गाउँघरमा आपसमा पर्मपात पनि चल्थ्यो । श्रमसँग गाउँलेको तादात्म्य सम्बन्ध थियो । गाउँलेहरु धेरैजसो आ–आफ्ना खेतबारीमै आफैँ काम गरिरहेका हुन्थे । खेतबारीहरु नै बाँदर र मानिसका मिलनस्थल थिए । त्यसताका पहराका बाँदरहरु गाउँलेहरुका लागि खास समस्या थिएनन् ।

त्यसताका मुलुकमा राजनीतिले व्यवसायको रुप लिएको थिएन । यसैले राजनीतिक व्यवसायीहरु पनि थिएनन्। मुलुकमा आशा भरोसाका रुपमा स्थापित उद्योग कारखानाहरु रहर लाग्दो गतिमा चलिरहेका थिए। धेरै युवायुवतीले रोजगारी पाएका थिए। स्कुल–कलेजहरुमा अटाई नअटाई विद्यार्थी हुन्थे। सरकारले जताततै मानव बेचबिखन कम्पनीहरु खोलेर मुलुकका युवायुवतीहरु र विद्यार्थी बालबालिकालाई विभिन्न मुलुकमा निकासी गर्ने व्यापार व्यवसाय चलाएको थिएन।

नागरिकहरु राजनीतिक साहु–सामन्तका बेचबिखनमा परेका थिएनन् । तिनले निर्धक्कसँग आफ्ना खेतबारीमा खेती गर्न पाएका थिए । गाउँबस्ती कृषिउपजले लदाबदी थियो । गाउँहरुले आपूm पालिएर उब्रने उपजले राजधानीलगायत मुलुकका शहरहरुलाई पनि पालेको थियो । यति हुँदा पनि नसकिएर मुलुकको धानचामललगायत अन्नहरु कम्पनी खोलेर त्यसको माध्यमबाट विदेशतिर पनि निकासी व्यापार गरिन्थ्यो । मुलुकलाई व्यापारघाटा थिएन । नागरिकका थाप्लामा कराडौँको विदेशी ऋणको घट्ट घुमेको थिएन ।

त्यसताका मुलुकमा रैथाने बीउबीजन र प्रविधिमा फस्टाएको कृषि व्यवसाय त थियो नै । उद्योग व्यापार व्यवसाय पनि आफ्नै गतिमा फस्टाउँदै थिए । राजनीतिक व्यवसाय भने फस्टाउन सकेको थिएन । व्यवसायका रुपमा राजनीतिको पहिचान नै थिएन । राजनीति त्याग, योग र जनसेवा मानिन्थ्यो । देशसेवा मानिन्थ्यो । राजनीति पनि व्यवसाय हुन सक्छ भन्ने बोध मुलुकका साहु–महाजन, रकमी–कलमी, चाटुकारहरुमा पनि थिएन ।

मुलुकमा अजङ्गका परिवर्तनहरु भए। उद्योग, व्यापार र कृषिजस्ता व्यवसायहरुलाई छायामा पारेर हरेक परिवर्तनले राजनीतिलाई नै खास व्यवसायका रुपमा अगाडि ल्यायो । परम्परागत र पछि थपिएका उद्योग व्यवसायहरु क्रमशः उखेलिँदै गए। कल कारखानाहरु बेचिँदै, बढारिँदै गए । सरकारबाट पाउनुपर्ने प्रोत्साहन नपाएर कृषि व्यवसाय धर्मराउँदै गयो । पछिल्लो परिवर्तनपछि त मुलुकमा राजनीतिबाहेक अरु व्यवसाय बाँकी नै रहेन। व्यवसाय बनेपछि अब राजनीतिले पनि चोला फेर्‍यो । राजनीति अब राज्यसञ्चालनको नीति रहेन। राज्यदोहनको धन्दा चलाउने एउटा व्यवसाय मात्र रहिदियो।

राजनीतिक व्यवसायी, साहु, सामन्त, नेता, उपनेताहरुले मुलुकलाई युवाविहीन बनाउनुमा आफ्नो निर्बाध तथा विरोधविहीन भविष्य देखे । भ्रष्टाचार र माफियातन्त्रका लागि बेजोड सम्भावना देखे। प्रतिरोधी आन्दोलनको मृत्यु देखे। नरहे बाँस नबजे बाँसुरी। मुलुकमा चलिआएका उद्योग इलमका कलकारखाना बृहत् योजनापूर्वक बढारिएकै थिए । नयाँ खोल्ने र चलाउने पहल हुन दिएनन्। यस्तो अवस्थामा मुलुकमा बेरोजगारी त बढ्नु नै थियो, बढ्यो।

यसै बीच राज्यले योजनाबद्धरुपमा वैदेशिक रोजगारीका बाटो खोल्ने र हल्ला फिँजाउने अघोषित अभियान चलायो। सरकारकै पहलमा मुलुकमा जताततै मानव बेचबिखनका कम्पनीहरु खोलिए । शिक्षा ध्वस्त पार्न विद्यालय, विश्वविद्यालयहरुमा राता, काला, नीला विविध रङ्ग र ढङ्गका धमिराहरु हुलियो। कृषिलाई सरकारी तहमा दिनुपर्ने प्रोत्साहन दिइएन। व्यापकरुपमा मुलुकमा यस्तो वातावरण निर्माण गरियो, जसका कारण युवायुवतीहरुमा देशको वर्तमान र भविष्यप्रति नै आशा–विश्वास ओइलाउँदै गयो, मर्दै गयो । हुनेखानेका सन्तान विद्यार्थी भिसामा युरोप, अमेरिका छिर्दै गए।

गाउँबस्तीका निम्न र निम्नमध्यम किसान युवायुवतीहरु रोजगारीको खोजीमा मानव बेचाहा तस्करहरुलाई तृप्त पार्दै खाडीका विभिन्न मुलुकतिर छिर्दै गए। विगत बीस–पच्चीस वर्षमा मुलुक युवाविहीन भयो। अब गाउँबस्तीमा युवायुवती भेटिँदैनन् । शहरमा पनि तिनको उपस्थिति नितान्त पातलो छ। विद्यालय, विश्वविद्यालय, क्याम्पसहरु दिनानुदिन विद्यार्थीविहीन बन्दै छन् । गाउँ युवाविहीन बनिसकेको छ । राजनीतिक व्यवसायले अरु सबै सम्भावित व्यवसायहरु खाई बुत्याइसकेको छ।

वर्तमान र भविष्यका रैथाने जनशक्ति अर्थात् युवायुवती र बालबालिकाहरुलाई विदेशतिर धपाइसकेको छ । गाउँबस्तीका खेतबारीहरु बाँझा पल्टेका छन्। अनाज, दलहन, तिलहन लदाबदी फल्ने खेतबारीमा अब वन–बुट्यानले ढाकेको छ । त्यहाँ अब मानिस होइन बाँदर, बँदेल र भालुहरु भेटिन थालेका छन्। सुुनिन्छ, राजनीतिक साहु–सामन्त, व्यापारीहरु यसैमा दङ्ग छन् र बाँदर हटाउने बहानामा अब तिनै रुख पनि काटेर बेची कमाउने दाउमा छन् ।

बूढापाकाहरु भन्छन्, बाँदर त समस्या नै होइन, वन–बुट्यान पनि समस्या होइन । गाउँमा मानिस नहुनु पो समस्या हो त। कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यही हो नि ! रैथाने मानिस त विदेश निकासी गरिसकिए । अब रुखहरुको पालो आएको छ।

रुखहरुकोे बेचबिखनपछि बाँदरको पालो आउनु पनि स्वाभाविकै होला । अब निकासी गर्न बाँकी यिनै बाँदर छन्। यी पनि रैथाने हुन् । रैथानेलाई किन बाँकी राख्ने ? बरु यसका लागि पनि बुद्धिमान् सरकारले राजनीतिक व्यवसायी, साहु–सामन्तहरु अघि बढाएर बाँदर बेचबिखन कम्पनी किन नखोल्ने ? खोल्ने सम्भावना दह्रो छ । एक दिन त्यो पनि खुल्ला ! हैन र ?