नेपाल घुम्न आएका पर्यटक : अपराधमा संलग्न हुने पहिलोमा भारतीय, दोस्रोमा चिनियाँ

4.04k
Shares

काठमाडौं ।

विभिन्न प्रयोजनका लागि नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीय र चिनियाँ नागरिक विभिन्न अपराधमा संलग्न रहेको पाइएको छ।

नेपाल भारतबीच खुला सिमाना भएका कारण नेपाल आउने भारतीय पर्यटकलाई नेपाल बस्ने समय सीमा नहुने भएकाले भारतीय नागरिकहरू नेपालमा नै बसेर विभिन्न अपराधमा संलग्न रहेको प्रहरी प्रधान कार्यालयलको तथ्यांकले देखाएको छ।

भारतीय नागरिकहरू विशेष गरी लागुऔषध ओसारपसारमा बढी संलग्न हुने र नेपालमा सुपारी लिएर व्यक्तिहत्याजस्तो जघन्य अपराधमा संलग्न हुने गरेको पनि प्रहरीको तथ्यांकले देखाएको छ। त्यसबाहेकका विभिन्न अपराधमा संलग्न रहेका भारतीय नागरिकहरू नेपालका विभिन्न जेलमा रहेका छन्।

भारतीयपछि नेपालमा विभिन्न अपराधमा संलग्न हुने विदेशीमा उत्तरी छिमेकी मुलुक चिनियाँ नागरिक रहेका छन्। पर्यटक भिसामा नेपाल आएर नेपालको अध्यागमन नियमअनुसार १ सय ५० दिन बस्न पाइने भए पनि चिनियाँ नागरिकहरू नेपालमा ओभरस्टे भएर बस्ने गरेका कारण उनीहरूलाई देश निकाला गरिएको छ।

नेपालमा घुम्न आएका चिनियाँ नागरिकमध्ये अधिकांश नागरिक अध्यागमन नियम उल्लंघन गर्ने, वैदेशिक मुद्रासम्बन्धी कसुर र संगठित अपराधमा संलग्न रहेका २ सय १० जनालाई देश निकाला गरिएको अध्यागमन कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्।

अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा नेपाल आएकामध्य ४ सय ५८ जना विदेशी नागरिकलाई विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा निष्काशन गरेको पनि सो कार्यालयले जनाएको छ।

देश निकाला गरिएका अन्य विदेशी नागरिकहरूमा युरोपेली, अमेरिकी र अफ्रिकी तथा अन्य देशका विदेशी नागरिक रहेको पनि सो कार्यालयले जनाएको छ।

नेपालमा घुम्न आउनेमध्ये चिनियाँ नागरिकहरू अध्यागमन कानुन उल्लंघन गर्ने बढी रहेको र उनीहरूमध्ये अधिकांशलाई ५ वर्षसम्म नेपाल फर्कन नपाउने गरी निष्कासन गरेको सो कार्यालयले जनाएको छ।

विगत १० वर्षमा नेपाल घुम्न आएकामध्ये ४ हजार १ सय विदेशी नागरिकलाई निष्काशन गरेको पनि विभागले जनाएको छ। नेपाल आएर लामो समयसम्म बस्दै आएका चिनियाँ नागरिकमा १ सय ५० दिन निःशुल्क बस्न पाइने भएपछि अरू दिन बस्दा पैसा तिरेर बस्न पाइने भ्रममा रहने गरेको कारण उनीहरू निष्काशनमा पर्ने गरेको अध्यमगमन कार्यालयका अधिकृत प्रेम दाहालले जानकारी दिनुभयो।

अध्यागमन कार्यविधि २०६५ मा कुनै पनि व्यक्तिलाई निष्कासन गर्नुअघि त्यससम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाउने र सो व्यक्तिले त्यसबारे निर्णय नहुन्जेलसम्म विभागले तोकेको स्थानमा राखेर स्वदेश फर्काउने गरिएको छ।

कार्यविधिमा एक देखि दुई वर्ष बिनाभिसा नेपालमा बसेका विदेशीका हकमा एक वर्षका लागि निष्कासन गर्ने, दुईदेखि तीन वर्षसम्म बसेका व्यक्तिलाई दुई वर्षका लागि र तीन वर्षभन्दा बढी अवधि बसेका व्यक्तिको हकमा तीन वर्षका लागि निष्कासन गर्ने उल्लेख छ।