अल्ट्रा म्याराथनमा वेद र निर्मलालाई स्वर्ण



काठमाडौं । 

बेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। बेदबहादुर पुरुष तथा निर्मला महिलाको ५५ किलोमिटर दूरीमा पहिलो भएका हुन्।

पुरुषमा मनकुमार रोका मगर दोश्रो तथा गोपाल तामाङ तेश्रो भए। महिलामा छोकी शेर्पा दोश्रो भइन्। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार नगद पुरस्कार पाए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य जिते।

उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोश्रो तथा हुमि बुढा मगर तेश्रो बने। पुरुष/महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गरे।

पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल प्रथम, निरज भट्ट द्वितीय र सुवास कार्की तृतीय भए । सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्माकुमारी सुनुवार दोश्रो र सोनिमा शेर्पा तेश्रो स्थानमा रहे। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते।

प्रतियोगितामा पुरुषतर्फ १ सय २७, महिलातर्फ ३१ खेलाडीले भाग लिएका थिए। जसमा ५ जना विदेशी खेलाडी पनि सहभागी थिए। म्याराथन सुनापतीको हिलेदेखि सुरु भइ सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्