सद्भावलाई सिजनको दोस्रो उपाधि



काठमाडौं ।

प्रोफेसनल खेलाडी भुवन नगरकोटीलाई सात स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप जितेका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत उक्त छैटौं प्रतियोगितामा सद्भावले समग्रमा १४ अन्डर २ सय ७४ स्कोरसहित उपाधि जितेका हुन् । टूरअन्तर्गत तेस्रो पटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधिमा आफ्नो नाम लेखाउन उनी सफल भए।

साथै यो सिजनमा सदभावको यो दोस्रो उपाधि हो। यस सिजन २०२३–२४ मा दुई उपाधि जित्ने उनी मात्रै छन्। यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि जितेका थिए। त्यस्तै गत सिजनमा सूर्य नेपाल च्यालेन्ज उपाधि जितेका थिए।

नगरकोटी समग्रमा ७ अन्डर २ सय ८१ सहित दोस्रो भए। तर, प्रोफेसनलमा पहिलो भएको हुँदा विजेताको पुरस्कार रकम नगरकोटीले नै पाए। उनले १ लाख ४० हजार नगद प्राप्त गरेका हुन्। एमेच्योरतर्फ उपाधि जित्ने खेलाडीलाई नगद पुरस्कार नदिइने प्रावधान रहेकोअनुसार नै उनले समग्रमा दोस्रो भएपनि सो रकम हासिल गर्न सफल भए।

यस्तै अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र निरज तामाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे। उनीहरूले समग्रमा ४ अन्डर २ सय ८४ स्कोर गरेका थिए । प्रोफेसनल खेलाडी भएको हुँदा निरजले दोस्रो पुरस्कार रकम ९६ हजार प्राप्त गरे। समग्रमा इभन–पार २ सय ८८ स्कोरमा खेल सकाएका दिनेश प्रजापतिले तेस्रो पुरस्कार रकम ७२ हजार हात पारे।

यसैगरी समग्रमा ४ ओभर २ सय ९२ स्कोसहित सञ्जय लामा र धन बहादुर थापाले संयुक्तरुपमा चौथो स्थानमा रहँदै जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। अघिल्लो प्रतियोगिता जितेका रवि खड्काले समग्रमा ५ ओभर २ सय ९३ स्कोरमा छैटौं पुरस्कार रकम ४२ हजार ५ सय हासिल गरे।

यस्तै समग्रमा ७ ओभर २ सय ९४ स्कोरसहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। दुवैले जनही ३७ हजार २ सय ५० नगद हासिल गरे। धरानका दुई खेलाडी युवराज भुजेल र बलभद्र राईले जनही ३२ हजार नगद प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्