पेरिस ओलम्पिक्समा ३ लाख कन्डम बाँडिने



एजेन्सी ।

आगामी जुलाई–अगस्तमा हुने पेरिस ओलम्पिक्समा तीन लाख कन्डम वितरण गरिने भएको छ। आयोजकको अनुसार पेरिस ओलम्पिक्स दौरान खेलाडीलाई तीन लाख थान कन्डम वितरण गरिन लागेको जनाएको हो।

जसको प्रयोग खेलाडीले ओलम्पिक्स भिलेजमा गर्न पाउने छन्। पेरिस ओलम्पिक्स आयोजना हुन अब पाँच महिनाको समय मात्रै बाँकी छ। यस्तोमा आयोजकले प्रतियोगिताको लागि अहिलेदेखि नै कन्डम सञ्चय गर्न थालिसक्यो।

ओलम्पिक्स दौरान कन्डम वितरण गर्न लागिएको यो पहिलो पटक भने होइन। आयोजकले पहिलेका ओलम्पिकमा पनि एथ्लीट्स भिलेजमा बस्ने खेलाडीलाई कन्डम वितरण गर्दै आएको छ।

सन् १९८८ को सिउल ओलम्पिकपछि आयोजकले एचआईभी र एड्स रोगको बारेमा जागरुकता फैलाउनुका साथै गर्भ निरोधकका लागि कन्डम वितरण गर्दै आएका थिए।

गत टोकियो ओलम्पिक २०२० को बेला पनि ओलम्पिक्स भिलेजमा बस्ने खेलाडीलाई १ लाख ५० हजार कन्डम वितरण गरिएको थियो। साथसाथै टोकियो ओलम्पिक्समा कारण खेलाडीलाई विभिन्न प्रतिबन्ध पनि लगाइएको थियो।

जसमा आपसमा १.५ मिटरको दुरी बनाउनुको साथै कुनै पनि खेलाडीसँग हात मिलाउन, अँगालो हाल्न र यौन साधनबिना शारीरिक सम्बन्ध राख्न निषेध गरिएको थियो।

यो सबै प्रतिबन्ध कोभिड–१९ का कारण लगाईएको थियो। टोकियो ओलम्पिक्समा सिमित संख्यामा दर्शकलाई ताली बजाउन, नारा लगाउन र गीत गाउन, बजाउन समेत निषेध गरिएको थियो।

कोभिड–१९ महामारीलाई दृष्टिगत गर्दै शारीरिक सम्पर्कमा प्रतिबन्ध लगाइएको कारण यस्तो गतिविधिमा न्युनता आएको थियो। साथै शारीरिक सम्बन्ध स्थापना गर्नेले त्यस्ता गर्भ निरोधक आफ्नै मुलुकमा लानुपर्ने कडा नियम समेत बनाइएको थियो।

तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यस पटक पेरिस ओलम्पिक्समा कोभिड–१९ का सम्पूर्ण प्रतिबन्ध हटाएको छ । जसले गर्दा ओलम्पिक्स भिलेजमा खेलाडी एकआपसमा मिलेर बस्न सक्नेछन्।

यो पटक ओलम्पिक भिलेजमा ९ हजार खेलाडी बस्ने र एउटा खेलाडीलाई प्रत्येक दिन दुई कन्डम वितरण गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्