राइट टु प्रोटिन रनमा दीपक र सन्तोषी पहिलो



काठमाडौं ।

नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनअन्तर्गत हाफ म्याराथनमा शनिबार स्वर्ण जितेका छन्।

एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे।

साग स्वर्णधारी (५ हजार मिटर दौड) एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोश्रो भए । यस्तै पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समयमा तेश्रो भए। आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खडकबहादुर खड्का पाँचौं स्थानमा रहे ।

साग स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १ घण्टा २० मिनेट १९ सेकेन्ड समय लगाइन्। १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल प्रहरीकी राममाया बुढा दोश्रो तथा १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेश्रो बने।

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो तथा एपीएफकी फुलमती रानाले पाँचौं स्थानमा दौड टुंगाए । पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाए ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो। मुकेशबहादुर पाल, सञ्जय श्रेष्ठ, राजेन्द्र राई, सुवास कार्की तथा श्रीकाश राई शीर्ष ५ मा रहे । पहिलोदेखि पाँचौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

महिला खुला ५ किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सृजना पाण्डेय पहिलो भइन् । प्रहरीकी राजपुरा पछाईं (२१ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा आर्मीकी निर्मला केसी (२२ मिनेट ३० सेकेन्ड) तेश्रो बने । एपीएफकी आशा रावत चौथो तथा प्रहरीकी सुमित्राकुमारी चौधरी पाँचौ भए । शीर्ष पाँचले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हासिल गरे ।

समापनका अवसरमा विश्व भेटेरिनरी संघका अध्यक्ष राफलले नेपाल भेटेरिनरी संघलाई वर्ष २०२३ को अवार्डसहित ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरेका थिए।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको तेश्रो संस्करणमा ७ हजार बढी प्रतिस्पर्धीको सहभागिता रहेको आयोजकले जनाएको छ।

८ विधामा भएको दौडको कुल पुरस्कार राशी कर बाहेक ११ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्